काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारसँग सम्बन्धित सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक श्रव्य सामग्री तथा उहाँमाथि उठेका गम्भीर प्रश्नपछि पार्टीले आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको छ।
पार्टीले सुनारमाथि सार्वजनिक भएका आरोपहरूको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन गर्न निर्देशन दिएको जनाएको छ। छानबिन निष्कर्षमा नपुग्दासम्म उनलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशनसमेत दिइएको छ।
रास्वपाले महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी सार्वजनिक आरोपलाई गम्भीर र संवेदनशील विषयका रूपमा लिएको स्पष्ट पारेको छ।
महिलाको मर्यादामाथि आँच पुर्याएको, अनुचित दबाब दिएको, धम्की र शंकास्पद आर्थिक लेनदेन गरेको आरोपबारे रास्वपाको गम्भीर ध्यानाकर्षण; केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन गर्न निर्देशन
विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा उभिएको दाबी गर्ने पार्टीले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता आरोपलाई सामान्य रूपमा लिन नसकिने जनाएको छ। महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको पनि विज्ञप्तिमा उल्लेख छ।
सार्वजनिक भएका विषयको गम्भीरतालाई ध्यानमा राख्दै रास्वपाले राज्यका सम्बन्धित निकायबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गरेको छ। राज्यले अघि बढाउने अनुसन्धान प्रक्रियामा पार्टीले पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ।
पार्टीले अनुसन्धानको निष्कर्षका आधारमा कानुन र विधानबमोजिम थप कदम चाल्ने स्पष्ट पारेको छ। कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने व्यक्तिलाई राजनीतिक संरक्षण नदिइने उसको भनाइ छ।
रास्वपाले ‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यताप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै आरोपको निष्पक्ष छानबिन र त्यसबाट प्राप्त निष्कर्षका आधारमा आवश्यक निर्णय लिने जनाएको छ।
यद्यपि, सुनारमाथि सार्वजनिक भएका आरोपबारे अन्तिम निष्कर्ष सम्बन्धित अनुसन्धानबाट स्थापित हुन बाँकी छ। पार्टीको आन्तरिक छानबिन र राज्यका निकायबाट हुने अनुसन्धानले यस प्रकरणको वास्तविकता स्पष्ट पार्ने अपेक्षा गरिएको छ।




