दसैँको दक्षिणाले बिगार्दै नोट, डिजिटल कारोबार गर्न राष्ट्र बैंकको आग्रह

Headlines अर्थ बैंक/वित्त

अबिर र रङले नोट बिग्रिने जोखिम, सफा नोट चलनचल्तीमा राख्न राष्ट्र बैंकको अपिल

काठमाडौं । दसैँमा टीका र जमरासँगै दिइने दक्षिणामा प्रयोग हुने बैंकनोटको जतन गर्न नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ। चाडपर्वमा नोटमा अबिर, रङ र अन्य पदार्थ लगाउने तथा च्यात्ने, भिजाउने र फोहोर बनाउने प्रवृत्तिले नोटको गुणस्तर बिगार्ने भएकाले राष्ट्र बैंकले डिजिटल माध्यमबाट दक्षिणा दिनसमेत अनुरोध गरेको हो।

राष्ट्र बैंकले मंगलबार वित्तीय चेतनासम्बन्धी सन्देश जारी गर्दै नोटमा कुनै पनि प्रकारको रङ वा अबिर नलगाउन, नोट नभिजाउन र नच्यात्न आग्रह गरेको छ। नोटलाई सफा, सुक्खा र सुरक्षित ठाउँमा राख्न पनि उसले सुझाव दिएको छ।

दसैँमा टीका लगाएर दक्षिणा दिने परम्पराका कारण बैंकनोटको प्रयोग हुने गर्छ। तर, दक्षिणाका रूपमा दिइने नोटमै अबिर र रङ लगाउने, मोड्ने वा असुरक्षित तरिकाले राख्ने गर्दा नोट चाँडै बिग्रिन सक्छन्। बिग्रिएका नोटको व्यवस्थापन र प्रतिस्थापन गर्नुपर्ने भएकाले नोटको जतन गर्नु आवश्यक रहेको राष्ट्र बैंकको सन्देश छ।

सफा र सुकिला नोट मात्र चलनचल्तीमा रहून् भन्ने उद्देश्यले राष्ट्र बैंकले सफा नोटसम्बन्धी नीति अपनाउँदै आएको छ। त्यसैले दसैँमा दक्षिणा दिँदा नोटको अवस्था बिगार्ने गतिविधि नगर्न र सम्भव भएसम्म डिजिटल माध्यम प्रयोग गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।

राष्ट्र बैंकले विजया दशमीको शुभकामना दिँदै नोटको जतन गर्नु सबैको कर्तव्य भएको स्मरण गराएको छ।