क्यानडाविरुद्ध नेपालले दियो २३६ रनको लक्ष्य, रोहितको शतक

Headlines खेलकुद

रोहित पौडेलले बनाए १०१ रन, गुल्सन झाको आक्रामक ब्याटिङ

काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडाविरुद्ध नेपालले २३५ रन बनाएको छ। ओमानको अल अमेरातमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको हो। क्यानडाले जितका लागि २३६ रन बनाउनुपर्नेछ।

नेपालका कप्तान रोहित पौडेलले शतकीय पारी खेले। उनले १२७ बलमा ८ चौका र एक छक्काको मद्दतले १०१ रन बनाए। गुल्सन झाले ३४ बलमा ४ चौका र ३ छक्कासहित ४८ रन जोडे।

बसिर अहमदले ३० र अर्जुन कुमालले २३ रन बनाए। अन्य ब्याटरले भने उल्लेख्य योगदान दिन सकेनन्। आसिफ शेख ४, ईशान पाण्डे शून्य, दीपेन्द्रसिंह ऐरी ६, करण केसी ४, नन्दन यादव २ र ललित राजवंशी २ रनमा आउट भए। सन्दीप लामिछाने २ रनमा अविजित रहे।

नेपालले सुरुवातमै दुई विकेट गुमाएको थियो। आसिफ र ईशान सस्तैमा आउट भएपछि दबाबमा परेको नेपाललाई रोहित पौडेल र अर्जुन कुमालले सम्हाल्ने प्रयास गरे। रोहितले एकातिर इनिङ्स सम्हाल्दा गुल्सनले अन्तिम ओभरतिर आक्रामक ब्याटिङ गरे।

क्यानडाका अखिल कुमारले ४ विकेट लिए। सुखजिन्दर सिंहले ३ तथा जाहिद सिरजादले २ विकेट लिए।

लिग–२ को यस खेलमा नेपाललाई जितका लागि अब क्यानडालाई २३६ रनमा रोक्नुपर्नेछ।