घटस्थापनाको धार्मिक तथा सांस्कृतिक महत्व विशेष छ : डा.नारायण प्रसाद निरौला

Headlines संकृति - सम्पदा

घटस्थापनाको धार्मिक तथा सांस्कृतिक महत्व विशेष छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । नेपालीहरूको महान चाड बडादसैँको पहिलो दिन घटस्थापना देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै नवरात्रको विधिवत् आरम्भ हुन्छ ।

घटस्थापनाका दिन घरघरमा जमरा राख्नुका साथै कलश स्थापना गरी दुर्गा भवानीको पूजा आराधना गर्ने परम्परा छ । सुख, समृद्धि, ऐश्वर्य र मंगलको प्रतीकका रूपमा कलशलाई स्थापना गरी नवरात्रभर विशेष पूजा गर्ने गरिन्छ ।

घटस्थापनाका अवसरमा बिहानै शुद्ध स्थानमा विधिपूर्वक पूजा गरी माटो वा बालुवामा जौ छरेर जमरा राखिन्छ । त्यसपछि कलश स्थापना गरी देवी भगवतीको पूजा आराधना गरिन्छ ।

यसै सन्र्दभमा नेपाल न्यूज बैंकसँगको संवादमा उपप्राध्यापक डा.नारायणप्रसाद निरौलाले घटस्थापनाको धार्मिक तथा सांस्कृतिक महत्वबारे स्पष्ट पार्दै यो नवरात्रमा देवी भगवतीको उपासना आरम्भ गर्ने महत्वपूर्ण दिन भएको बताए ।

उनका अनुसार ‘घट’ भन्नाले घडा र ‘स्थापना’ भन्नाले राख्ने भन्ने अर्थ लाग्ने भएकाले घडा स्थापना गर्ने कार्यलाई घटस्थापना भनिन्छ ।

घटस्थापना शारदीय नवरात्रसँग सम्बन्धित रहेको र यस दिनदेखि नौं दिनसम्म भगवतीको आराधना गर्ने परम्परा रहेको उनले बताए ।

उनका अनुसार वर्षमा चारवटा नवरात्र हुने भए पनि दुईवटा गुप्त नवरात्र र शारदीय तथा वासन्ती गरी दुईवटा प्रमुख नवरात्र मानिन्छन् । चैत्रमा पर्ने वासन्ती नवरात्र भएपनि नेपालको सन्दर्भमा शारदीय नवरात्रको विशेष धार्मिक महत्व रहेको उनले बताए ।

‘घट भनेको घडा हो, स्थापना भनेको राख्ने, घडालाई स्थापना गर्ने । कस्तो कार्यको लागि घट स्थापना गरिन्छ भन्ने कुरा नवरात्रसँग सम्वन्धित छ र देवीको उपासनासँग सम्बद्ध विषयवस्तु हो । यो शारदीय नवरात्र हो । यस्ता चारवटा नवरात्र हुन्छन् । दुईवटा गुप्त नवरात्र हुन्छन्,’ उनले भने, ‘दुईवटामा एक शारदीय र एउटा वासन्ती हुन्छ । चैत्रमा पर्ने वासन्ती भयो भने नेपालको परिप्रेक्ष्यमा शारदीय नवरात्रको विशेष महिमा छ । नवरात्रमा नौं दिनसम्म भगवतीको आराधना गरिन्छ र दसौँ दिनका दिन प्रसाद ग्रहण गरिन्छ र समापन हुने गर्छ ।’

उनले घटस्थापनाका दिन घट स्थापना गरी त्यसमा जललगायत आवश्यक सामग्री राख्नुका साथै देवी भगवतीलाई आह्वान गरी नियमित पूजा आरम्भ गरिने उनले बताए । यसै दिन जौं रोपेर जमरा राख्ने परम्परा रहेको उल्लेख गर्दै उनले जमरा भगवतीलाई प्रिय वस्तुका रूपमा शास्त्रमा उल्लेख गरिएको बताए ।

उनले भने, ‘मूलतः विधि—पद्धति भनेको एउटै हुन्छ । यव रोपण गरिन्छ, घट स्थापना गरिन्छ, जल राखिन्छ । घटस्थापना गर्ने चलन सबै स्थानमा एउटै तरिकाले गर्ने प्रचलन छ ।’

उनका अनुसार घटस्थापनाका लागि घडा, दियो, कलश, गणेश तथा देवी भगवतीको प्रतिमा लगायतका सामग्री आवश्यक पर्छन् । त्यस्तै चन्दन, अक्षता, पुष्प, पाद्य, अघ्र्य, आचमनी, पञ्चामृत, फल तथा नैवेद्यलगायत षोडशोपचार पूजाका सामग्री पनि प्रयोग गरिन्छन् । नवरात्रभर दुर्गा सप्तशती अर्थात् चण्डी पाठ गर्ने परम्परा रहेको र स्थान तथा परम्पराअनुसार देवी भागवत पाठसमेत गरिने उनले बताए ।

उनले भने, ‘घटस्थापनाका लागि देवीको पूजा आरम्भ गर्ने समय हो । यस्तोबेला सामग्री थुप्रै चाहिन्छन् । घडा, दियो, कलश, गणेशको पूजा गर्नुपर्छ । भगवतीको प्रतिमा स्थापना गर्नुपर्छ । पूजाका अन्य सामग्रीहरू–षोडशोपचारका सामग्रीहरू, चन्दन, अक्षता, पुष्प, पाद्य, अघ्र्य, आचमनी, पञ्चामृत आदि चाहिन्छ । त्यस्तै फल, नैवेद्य आदि यी सामान्य पूजाका कुराहरू चाहिन्छ ।’

उनले जमरा राख्ने विषयमा भने सबै ठाउँमा मकै नै राख्नुपर्छ भन्ने मान्यता नरहेको बताए । उनका अनुसार शास्त्रीय रूपमा ‘यव’ अर्थात् जौंको जमरा उत्तम मानिन्छ । उनले कतिपय स्थानमा स्थानीय चलनअनुसार गहुँ वा अन्य अन्नको जमरा राख्ने गरिए पनि धार्मिक रूपमा जौलाई नै प्राथमिकता दिइएको बताए ।

उनले घटस्थापनामा प्रयोग हुने घडाको सामग्री पनि स्थान र परम्पराअनुसार फरक हुनसक्ने बताए । कतै माटोको, कतै तामाको तथा अन्य सामग्रीबाट बनेको घडा प्रयोग गरिएपनि स्थापना गर्ने मूल विधि भने समान रहने उनले बताए । घटमा जल, सर्वौषधि लगायतका सामग्री विधिपूर्वक राख्ने परम्परा रहेको जानकारी दिए ।