माछापुच्छ्रे बैंकलाई Digital Innovation र Risk Management मा दुई अन्तर्राष्ट्रिय अवार्ड

बैंक/वित्त

काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको भन्दै दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार प्राप्त गरेको छ।
बैंकले इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२६ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टमर एन्गेजमेन्ट’ विधामा बैंकिङ अवार्ड प्राप्त गरेको जनाएको छ। ग्राहकको खाता खोल्नेदेखि बैंकिङ सेवासँग जोडिने प्रक्रियालाई थप सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको ‘रिइन्भेन्टिङ कस्टमर अनबोर्डिङ’ पहलका लागि बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो।

इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्सले बैंक तथा वित्तीय संस्थाले प्रविधि, नवप्रवर्तन र ग्राहक केन्द्रित सेवाका क्षेत्रमा गरेका उत्कृष्ट कार्यलाई सम्मान गर्दै आएको छ। सन् २०२६ को संस्करणमा विश्वभरबाट नौ विधामा ५०० भन्दा बढी आवेदन परेकोमा विभिन्न विधाका विजेता छनोट गरिएको बैंकले जनाएको छ।

उक्त सम्मानले बैंकले डिजिटल रूपान्तरण र ग्राहक सम्बन्ध सुधारलाई प्राथमिकतामा राख्दै आएको प्रतिबिम्बित गर्ने बैंकको भनाइ छ। ग्राहकलाई सरल, सहज, छिटो र सुरक्षित बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले डिजिटल प्रविधिको प्रयोगलाई निरन्तर विस्तार गर्दै आएको जनाएको छ।

यसैगरी, बैंकले अर्को अन्तर्राष्ट्रिय सम्मानका रूपमा ‘बेस्ट पर्फर्मेन्स अन रिस्क म्यानेजमेन्ट’ अवार्ड प्राप्त गरेको छ। इन्डियन चेम्बर अफ कमर्स द्वारा नयाँ दिल्लीमा आयोजित साउथ इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स २०२६ मा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो।

कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम तथा तरलता जोखिम व्यवस्थापनका क्षेत्रमा बैंकले गरेको प्रयासको मूल्याङ्कन गर्दै उक्त पुरस्कार प्रदान गरिएको बैंकले जनाएको छ। यस सम्मानले सुरक्षित, जिम्मेवार र सावधानीपूर्ण बैंकिङ अभ्यासलाई बैंकले प्राथमिकता दिएको देखाउने बैंकको भनाइ छ।

माछापुच्छ्रे बैंकले पछिल्ला वर्षहरूमा पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको जनाएको छ। बैंकले ८८भिसा लिडरशिप कन्क्लेभ अवार्ड २०२३ र २०२४, इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ र २०२५ तथा राइजिङ स्टार इन एसेट क्वालिटी अवार्ड २०२५ लगायतका विभिन्न सम्मान प्राप्त गरिसकेको जनाएको छ।

बैंकका अनुसार पछिल्ला अन्तर्राष्ट्रिय सम्मानहरूले ग्राहक केन्द्रित सेवा, डिजिटल प्रविधि तथा जोखिम व्यवस्थापनमा बैंकले अघि बढाएको पहललाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।