GLOBAL INNOVATION INDEX 2026: नेपाल १०४औँ स्थानमा, Credit Access मा २३औँ तर R&D मा १२२औँ !

Headlines आर्थिक

काठमाडौं । विश्व नवप्रवर्तन सूचकांकमा नेपाल तीन स्थान सुधार गर्दै १०४औँ पुगेको छ। तर अनुसन्धान, व्यवसायिक क्षमता र नयाँ प्रविधिलाई उत्पादनमा जोड्ने क्षेत्रमा भने नेपालको अवस्था कमजोर देखिएको छ।

विश्व बौद्धिक सम्पत्ति संगठन (डब्ल्यूआईपीओ) ले सार्वजनिक गरेको ग्लोबल इनोभेसन इन्डेक्स (जीआईआई) २०२६ अनुसार १३९ अर्थतन्त्रमध्ये नेपाल १०४औँ स्थानमा परेको हो। सन् २०२५ मा नेपाल १०७औँ स्थानमा थियो।

नवप्रवर्तनका लागि संस्थागत व्यवस्था, मानव पुँजी तथा अनुसन्धान, पूर्वाधार, बजार, व्यवसायिक क्षमता, ज्ञान तथा प्रविधिको उत्पादन र सिर्जनात्मक उत्पादनलाई आधार मानिन्छ।

नेपालको बजार र वित्तीय पहुँच तुलनात्मक रूपमा बलियो देखिएको छ। बजार परिष्कारमा नेपाल ७२औँ स्थानमा छ। क्रेडिटसम्बन्धी सूचकमा भने २२औँ स्थानमा छ। निजी क्षेत्रमा प्रवाह भएको घरेलु कर्जाको सूचकमा नेपाल २३औँ र लघुवित्त कर्जाको पहुँचमा तेस्रो स्थानमा छ।

तर यही वित्तीय स्रोत अनुसन्धान र नयाँ प्रविधिको विकासमा पर्याप्त रूपमा पुग्न सकेको छैन। लगानीसम्बन्धी सूचकमा नेपाल ११७औँ स्थानमा छ। व्यवसायिक परिष्कारमा नेपाल १२०औँ स्थानमा छ।

अनुसन्धान तथा विकास नेपालको कमजोर पक्षमध्ये प्रमुख हो। जीआईआई २०२६ मा यससम्बन्धी सूचकमा नेपाल १२२औँ स्थानमा छ। अनुसन्धान तथा विकासमा नेपालले कुल गार्हस्थ्य उत्पादनको कति रकम खर्च गर्छ भन्ने पछिल्लो उपलब्ध तथ्यांकसमेत सन् २०१० कै हो। त्यसअनुसार खर्च ० दशमलव ३० प्रतिशत रहेको छ।

नेपालमा विज्ञान तथा इन्जिनियरिङका स्नातक उत्पादन भने तुलनात्मक रूपमा राम्रो छ। यो सूचकमा नेपाल ४६औँ स्थानमा छ। वैज्ञानिक तथा प्राविधिक लेख प्रकाशनमा नेपाल ५५औँ स्थानमा छ।

तर अनुसन्धानबाट प्राप्त ज्ञानलाई व्यावसायिक उत्पादनमा बदल्ने अवस्था कमजोर छ। पेटेन्टसम्बन्धी सूचकमा नेपाल ९८औँ स्थानमा छ। विश्वविद्यालय र उद्योगबीचको अनुसन्धान तथा विकास सहकार्यमा नेपाल ९७औँ स्थानमा छ।

प्रविधिको प्रयोग बढे पनि उच्च प्रविधिको उत्पादन र निर्यातमा नेपाल पछाडि छ। उच्च प्रविधि निर्यातमा नेपाल १२७औँ स्थानमा छ। सफ्टवेयर खर्चमा १३०औँ र सूचना प्रविधि सेवाको आयातमा १३५औँ स्थानमा छ।

यसबीच नेपालमा डिजिटल कारोबार भने तीव्र रूपमा बढेको छ। विश्व बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०२० मा करिब २ करोड ४९ लाख रहेको विद्युतीय भुक्तानी कारोबार २०२५ अप्रिलसम्म १५ करोड ९४ लाख पुगेको थियो। तर डिजिटल कारोबारको विस्तारलाई नयाँ प्रविधि, सफ्टवेयर, बौद्धिक सम्पत्ति र उच्च मूल्यका सेवाको उत्पादनसँग जोड्न अझै चुनौती देखिएको छ।

जीआईआईमा नेपाल ३६ वटा तल्लो-मध्यम आय भएका अर्थतन्त्रमध्ये १९औँ र मध्य तथा दक्षिण एसियाका ११ अर्थतन्त्रमध्ये नवौँ स्थानमा छ। भारत ३८औँ, कजाखस्तान ७३औँ, भुटान ७४औँ र उज्बेकिस्तान ७७औँ स्थानमा छन्। नेपालपछि बंगलादेश १०५औँ स्थानमा छ।

डब्ल्यूआईपीओले नेपालको बलियो पक्षमा लघुवित्त कर्जा, निजी क्षेत्रमा प्रवाह भएको घरेलु कर्जा, कुल पुँजी निर्माण, युवा जनसांख्यिक लाभांश, श्रम उत्पादकत्व वृद्धि तथा विज्ञान र इन्जिनियरिङका स्नातकलाई राखेको छ।

सूचकले नेपालको समस्या बजार र वित्तीय पहुँचको अभावभन्दा उपलब्ध स्रोतलाई अनुसन्धान, प्रविधि र उत्पादनसँग जोड्न नसक्नुमा रहेको देखाएको छ। बजारमा रहेको पुँजी र डिजिटल प्रविधिलाई अनुसन्धान, स्टार्टअप, पेटेन्ट र उच्च मूल्यका उत्पादनसँग जोड्न सके नवप्रवर्तनको स्तर सुधार गर्न सकिने आधार देखिन्छ।