नेप्से ११.९६अंकले बढ्यो, कारोबार रकम भने घट्यो

Headlines बैंक/वित्त

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ११.९६ अंकले बढेर २ हजार ५७८.७३ विन्दुमा पुगेको छ। पछिल्ला दुई कारोबार दिन लगातार घटेको बजार मंगलबार भने सामान्य सुधारसहित बन्द भएको हो।

यस दिन सेन्सेटिभ इन्डेक्स २ अंकले बढेर ४६२.३८ विन्दुमा पुगेको छ। फ्लोट इन्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७५ अंकले बढेको छ।

नेप्से बढे पनि बजारमा भएको कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार ३ अर्ब २७ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ३५९ कम्पनीको ८९ लाख ५५ हजार कित्ता सेयर ४१ हजार ६०७ पटक किनबेच हुँदा कुल कारोबार ३ अर्ब १३ करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ।

यस दिन त्रिशूली जलविद्युत् कम्पनीको सेयर मूल्य ५.११ प्रतिशतले बढेको छ। मूल्य बढ्ने अन्य कम्पनीको वृद्धि भने ४ प्रतिशतभन्दा कम छ। यता सर्वोत्तम पेन्ट्सको सेयर मूल्य करिब ५ प्रतिशत घटेको छ भने एआईबीएल ग्रोथ फन्डको इकाइ मूल्य करिब साढे ४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको २३ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, लिबर्टी इनर्जीको करिब १४ करोड र हिमाल दोलखा हाइड्रोपावरको साढे ९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूह घटेका छन्। जीवन बीमा उपसमूह सबैभन्दा धेरै ४१.१० अंकले बढेको छ। लघुवित्त र निर्जीवन बीमा उपसमूह भने सामान्य घटेका छन्।

यसअघि सोमबार नेप्से २०.४८ अंकले घटेर २ हजार ५६६.७६ विन्दुमा बन्द भएको थियो। त्यस दिन ३ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको थियो।

मंगलबारको कारोबारले लगातारको गिरावटपछि बजारमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने बढ्न नसकेको देखाएको छ।