पाटनको सवैभन्दा लामा रातो मच्छिन्द्रनाथको रथयात्रा

विविध

ललितपुर, २६ बैशाख । बर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ यात्रा पाटनको मंगलबजार पुगेको छ । पाटनको सवैभन्दा लामा  रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा पाटनको टोल टोलमा रथ परिक्रमा गराइन्छ भने स्थानीयले यसको भब्य स्वागत गर्दै पुजा अर्चन समेत गर्दछन । हरेक बर्ष मातातिर्थ औंसीको भोलिपल्ट बाट प्रारम्भ हुने रातो मच्छिन्द्रनाथको जात्रा विहिवार ललिपुरको मंगलबजार पुगेको छ । ललितपुरको पुल्चोकबाट ३२ हात लामो रथ सहित प्रारम्भ गरिएको जात्रा शुक्रवार पाटन सुन्धारा पुग्नेछ भने शनिवार पनि त्यही रहनेछ । वैशाख शुक्ल प्रतिपदा देखि प्रारम्भ भएको रथ विहिवार पाटनको गावाहाल पुगेपछि स्थानीयले बाजागाजा सहित यसको स्वागत गरेका थिए। वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा सवैभन्दा लामो जात्राको रुपमा परिचित छ । जात्रा प्रारम्भ हुने मिति तय भएपनि यसको अन्त्य कहिले हुन्छ भन्ने कुरा तिथि नहेरी कसैले पनि भन्न सक्दैनन । जात्रा अवधिभर पाटनको विभिन्न टोलको परिक्रमा गर्ने रथ गावाहाल पुगेपछि रातो मच्छिन्द्रनाथको दर्शन गर्नेहरुको भीड लागेको थियो । घरघरबाट आएका नेवारी समूदायले रातो मच्छिन्द्रनाथको रथमा पूजाआजा, भजन कीर्तन गरी आफ्ना चेलीबेटीहरुलाई सोही ठाउँमा दक्षिणा दिने गर्दछन् ।विहिवार मंगलबजार पुगेको रथ त्यसपछि चावहाल अनि लगनखेलमा लगेर राखिन्छ । लगनखेलको मुख्य चोकमा रहेको ठुलो रुखलाई तिन पटक परिक्रमा गराएपछि मात्र विस्तारै रथ जावलाखेल लगिन्छ ।यसै क्रममा रथको उपल्लो भागबाट नरिवल खसालिन्छ भने यसको भोलिपल्ट पाटनका महिलाले मात्र रथ रातो मच्छिन्द्रनाथको रथ तान्छन । यसलाई एकल महिला जात्रा पनि भनिन्छ । यसपछि साइत हेरेर जावलाखेलमा रथ राखिन्छ ।रातो मच्छिन्द्रनाथको रथयात्राको लामो किंवदन्ती पनि प्रचलनमा रहेको छ । लिच्छवीकालका राजा नरेन्द्रदेवको पालामा भारतको कामरुप कामाख्या अर्थात् रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याइएको किंवदन्ती छ । किंवदन्तीअनुसार लिच्छवी राजा नरेन्द्रदेवको पालामा गुरु गोरखनाथले नागको आशन बनाई बसेकोले १२ बर्षसम्म अनिकाल लाग्यो ।यसपछि भारतको कामरुप कामाख्याबाट रातो मच्छिन्द्रनाथलाई काठमाण्डौंमा ल्याइएको थियो । यसपछि आफनो गुरु आएको देखेर गोरखनाथ उठे र नाग मुक्त भयो । किंवदन्ती अनुसार यसपछि पानी पार्न थाल्यो । रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको आठौं दिनसम्म घरघरबाट रातो मच्छिन्द्रनाथको रथयात्रामा सहभागी हुँदे भोज भतेर गर्ने गरिन्छ ।