KORALA ON CHINA’S RADAR : रसुवागढी–तातोपानी बन्द, ४३४ कन्टेनर र ६४१ EV भित्रिएपछि चिनियाँ राजदूत मुस्ताङमा

Sticky News समाचार

मुस्ताङ — भोटेकोशी बाढीपछि नेपाल–चीनका प्रमुख उत्तरी व्यापारिक नाका बन्द हुँदा स्थल व्यापार प्रभावित भइरहेका बेला नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ सात सदस्यीय टोलीसहित कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेका छन्।

राजदूत माओमिङसहितको टोली शनिबार कोरला नाका हुँदै लोमान्थाङ पुगेको हो। मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले राजदूत कोरला नाका हुँदै मुस्ताङ आएको पुष्टि गरेकी छन्। उनका अनुसार भ्रमणको विस्तृत उद्देश्यबारे जिल्ला प्रशासनलाई सबै जानकारी प्राप्त भइसकेको छैन।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार राजदूतसहितको टोली तीनदिने भ्रमणमा आएको हो। टोलीमा पाँच जना चिनियाँ र नेपालस्थित चिनियाँ दूतावासका दुई जना कर्मचारी छन्। टोली लोमान्थाङस्थित होटल मण्डलामा बसेको छ।

भ्रमण तालिकाअनुसार राजदूत माओमिङ लोमान्थाङबाट जोमसोम आउने र त्यहाँ नेपाल तथा चीनका अधिकारीबीच कोरला नाकासम्बन्धी छलफल गर्ने कार्यक्रम छ। जोमसोमस्थित होटल सिन्तामणि रिसोर्टमा हुने छलफलपछि उनी पुनः लोमान्थाङ फर्किनेछन्। भ्रमणको अन्तिम दिन कोरला नाका हुँदै चीन फर्किने कार्यक्रम रहेको जनाइएको छ।

लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार कोरला नाका हुँदै चिनियाँ राजदूतको यो पहिलो उच्चस्तरीय भ्रमण हो। उनका अनुसार कोरला नाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने तथा नाकाको समग्र अवस्था बुझ्ने उद्देश्यले राजदूत मुस्ताङ आएका हुन्।

दुई प्रमुख नाका बन्द भएपछि कोरला

गत भदौ १० गतेको भोटेकोशी बाढीपछि रसुवागढी–केरुङ नाका बन्द छ। तातोपानी नाका पनि बन्द रहेकाले नेपाल–चीनबीचको स्थल व्यापारका लागि कोरला नाकाको महत्त्व बढेको छ।

रसुवागढी नाका बन्द भएपछि कोरलाबाट चीनतर्फको व्यापारिक आवागमन बढेको देखिन्छ। भदौ १० गतेपछि कोरला नाकाबाट ४३४ कन्टेनर र ६४१ विद्युतीय सवारीसाधन नेपाल भित्रिएको तथा भदौ १० देखि २५ गतेसम्म मुस्ताङ भन्सार कार्यालयले १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको तथ्यांक सार्वजनिक भएको छ।

त्यस अवधिमा कोरला नाका वैकल्पिक व्यापारिक मार्गका रूपमा अघि आएपछि मुस्ताङ भन्सारको दैनिक राजस्व संकलनसमेत उल्लेख्य बढेको थियो। भन्सार कार्यालयका अनुसार रसुवागढी नाका बन्द भएपछि कोरलाबाट दैनिक करिब ३० करोड रुपैयाँसम्म राजस्व संकलन भएको थियो।

यही अवस्थामा चिनियाँ राजदूतको कोरला हुँदै मुस्ताङ भ्रमण भएको हो। भ्रमणका क्रममा नाकाको अवस्था, पूर्वाधार, सडक सम्पर्क, व्यापारिक आवागमन तथा नाका सञ्चालनमा देखिएका समस्याबारे जानकारी लिने विषय प्राथमिकतामा पर्ने स्थानीय अधिकारीहरूको भनाइ छ।

कोरला नाकालाई नियमित र व्यवस्थित रूपमा सञ्चालन गर्न नेपालतर्फको सडक तथा भन्सार पूर्वाधार, सुरक्षा र आवागमन व्यवस्थापनमा सुधार आवश्यक रहेको स्थानीय अधिकारीहरूले बताउँदै आएका छन्। राजदूतको भ्रमणका क्रममा नेपाल र चीनका अधिकारीबीच हुने छलफलमा यिनै विषय उठ्ने अपेक्षा गरिएको छ।

बाढीपछि चीनको सहयोग निरन्तर रहने प्रतिबद्धता

राजदूत माओमिङले यसअघि भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए। भदौ २५ गते नुवाकोट पुगेका उनले बाढीबाट भएको क्षतिको पुनरुत्थानमा चीनको सहयोग निरन्तर रहने बताएका थिए।

बाढीपछि रसुवागढी नाकामा भएको क्षतिका कारण नेपाल–चीन स्थल व्यापारमा अवरोध आएको छ। यस्तो अवस्थामा कोरला नाकाको व्यापारिक महत्त्व बढिरहेका बेला चिनियाँ राजदूतको स्थलगत भ्रमण भएको हो।

कोरला नाका नेपाल–चीन व्यापारका लागि वैकल्पिक मार्गका रूपमा अघि बढिरहेका बेला राजदूतको भ्रमणले नाकाको सञ्चालन, पूर्वाधार र व्यापारिक आवागमनका विषयमा दुई देशबीच थप छलफलको आधार बन्ने देखिएको छ।