अमेरिकामा ट्रक कारखाना बन्द हुँदा १ हजार ४ सयले रोजगारी गुमाए

अन्तराष्ट्रिय

ओहायो । अमेरिकाको ओहायोस्थित पूर्व नाभिस्टार ट्रक कारखाना बन्द हुँदा करिब १ हजार ४ सय कामदारले रोजगारी गुमाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ओहायो भ्रमणको तीन दिनअघि भएको ठूलो रोजगारी कटौतीले डेटन क्षेत्रका श्रमिक परिवारमा आर्थिक दबाब बढाएको छ।

दक्षिणपश्चिमी ओहायोको स्प्रिङफिल्डमा रहेको कारखानामा बुधबार अन्तिम दिन काम गरेका करिब १ हजार ४ सय कामदार रोजगारीबाट बाहिरिएका हुन्। यो रोजगारी कटौतीले ठूलो डेटन क्षेत्रमा एक वर्षमा थपिएको रोजगारी बराबरको संख्या मेटाएको समाचारमा उल्लेख छ।

रोजगारी गुमाउनेमध्ये ३० वर्षीय काइल बोस पनि छन्। उनका दुई छोरी छन् भने जनवरीमा अर्को सन्तान जन्मिने तयारीमा छ। उनले पछिल्लो समय परिवारको दैनिक खर्च व्यवस्थापन गर्न कठिन भइरहेको बताएका छन्। उनका अनुसार खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ।

बोस यसअघि तीनपटक ट्रम्पलाई मतदान गरिसकेका थिए। तर पछिल्लो अवस्थाबाट निराश बनेका उनले अब राजनीतिक परिवर्तन आवश्यक रहेको बताएका छन्। आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा उनी डेमोक्र्याटिक उम्मेदवारका लागि मतदातासँग सम्पर्क गर्ने अभियानमा सहभागी हुने तयारीमा छन्।

ट्रम्पले शनिबार डेटन क्षेत्रनजिकैको भान्डालियामा चुनावी सभा गरेका छन्। ओहायोमा आगामी निर्वाचनका लागि श्रमिक वर्गको मत महत्वपूर्ण मानिएको छ। रोजगारी कटौती, बढ्दो जीवनयापन खर्च र औद्योगिक रोजगारीको अवस्थाले स्थानीय राजनीतिमा समेत प्रभाव पारिरहेको छ।

कुनै समय उद्योग र उत्पादन क्षेत्रका लागि परिचित डेटन क्षेत्रमा पछिल्ला दशकमा औद्योगिक रोजगारीमा ठूलो गिरावट आएको छ। सन् १९९० यता क्षेत्रमा करिब आधा औद्योगिक रोजगारी घटेको तथ्यसमेत समाचारमा उल्लेख छ।

यसैबीच, अमेरिकाको समग्र श्रम बजार भने तत्काल ठूलो रोजगारी संकटमा पुगेको देखिँदैन। सेप्टेम्बरको अन्त्यतिर नयाँ बेरोजगारी दाबी १ लाख ९७ हजारमा झरेको र घोषित कर्मचारी कटौती पनि अघिल्लो अवधिको तुलनामा घटेको रोयटर्सले जनाएको छ।