विद्युत् प्रसारण र ब्याट्री भण्डारणमा निजी लगानी जुटाउन एडीबीको पीपीपी सम्झौता

Headlines अर्थ पूर्वाधार तथा विकास निर्माण

काठमाडौं । नेपालमा विद्युत् प्रसारण लाइन र ब्याट्री भण्डारण प्रणाली निर्माणमा निजी क्षेत्रको लगानी जुटाउन एसियाली विकास बैंक (एडीबी) र नेपाल विद्युत् प्राधिकरणबीच दुईवटा सार्वजनिक–निजी साझेदारी (पीपीपी) कारोबार परामर्श सेवा (टीएएस) सम्झौता भएको छ।

एडीबीका अनुसार नेपालमा पीपीपीअन्तर्गत भएको यो पहिलो सम्झौता हो। दुईवटा परियोजनामार्फत २० करोड अमेरिकी डलरभन्दा बढी निजी लगानी परिचालन हुने अपेक्षा गरिएको छ।

सम्झौतामा एडीबीका नेपाल निर्देशक अर्नो काचोइस र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

पहिलो सम्झौता १३४ किलोमिटर लामो ४०० केभी क्षमताको तिङ्ला–न्यु खिम्ती–ढल्केबर प्रसारण लाइनका लागि गरिएको हो। यसअन्तर्गत प्रसारण लाइनको डिजाइन, वित्तीय व्यवस्थापन, निर्माण, सञ्चालन तथा मर्मतसम्भारमा निजी क्षेत्रको सहभागिता गराइनेछ।

यो प्रसारण लाइनले अन्तरदेशीय विद्युत् व्यापार विस्तार गर्न, राष्ट्रिय प्रसारण प्रणालीको विश्वसनीयता बढाउन तथा नवीकरणीय ऊर्जाको उपयोग बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

दोस्रो सम्झौता ब्याट्री भण्डारण प्रणाली स्थापनाका लागि गरिएको हो। पीपीपी मोडलमा प्राधिकरणका विभिन्न सबस्टेसनमा १०० देखि १५० मेगावाट आवर क्षमताको बहुस्थानीय ब्याट्री भण्डारण प्रणाली स्थापना तथा सञ्चालन गरिनेछ।

ब्याट्री भण्डारण प्रणालीले विद्युत्को माग बढी हुने समयमा ग्रिडमा पर्ने चाप व्यवस्थापन गर्न, सौर्य तथा अन्य परिवर्तनशील नवीकरणीय ऊर्जालाई सहज रूपमा प्रसारण प्रणालीमा जोड्न र ग्रिडको स्थिरता कायम गर्न सहयोग गर्ने एडीबीले जनाएको छ।

सम्झौतापछि एडीबीका नेपाल निर्देशक काचोइसले नेपालमा विद्युत् पहुँच उल्लेख्य रूपमा बढेको बताए। उनका अनुसार सन् २०१६ मा ५८ प्रतिशत रहेको विद्युत् पहुँच सन् २०२५ सम्ममा ९९ प्रतिशत पुगेको छ।

अबको चुनौती उपभोक्तालाई भरपर्दो विद्युत् आपूर्ति गर्नुका साथै विद्युत् निर्यातको क्षमता बढाउनु रहेको उनले बताए। त्यसका लागि प्रसारण र ब्याट्री भण्डारण पूर्वाधारमा निजी क्षेत्रको सहभागिता महत्वपूर्ण हुने उनको भनाइ छ।