पाली सिनेमा क्षेत्र विदेशी फिल्महरूको चापबाट चेपिएको छ : निर्देशक बोहरा
काठमाडौं । चलचित्र ‘चमेलीको पोइ’का लेखक तथा निर्देशक एभरेस्ट सूर्य बोहराले आफ्नो चलचित्रमार्फत समकालीन नेपाली समाजको चित्रण गर्न खोजिएको बताएका छन् । उनले चलचित्रलाई सामाजिक व्यङ्ग्यमा आधारित बनाउँदै मनोरञ्जनसँगै दर्शकलाई सोच्न बाध्य बनाउने सन्देश दिन खोजिएको बताए । नेपाल न्यूज बैंकसँगको संवादमा निर्देशक बोहराले चलचित्र समाजको ऐना बन्नुपर्ने धारणा राख्दै ‘चमेलीको पोइ’ पनि त्यही उद्देश्यका साथ निर्माण गरिएको बताए ।
उनले भने, ‘यो एउटा सामाजिक व्यङ्ग्यात्मक चलचित्र पनि हो र आजको हाम्रो सोसाइटीको चित्रण गरिएको छ यसमा । म भन्छु मेरो सिनेमाहरू अथवा हरेक सिनेमाहरू के हुनुपर्छ भन्दाखेरि त्यो सोसाइटीको त्यतिबेलाको ऐना हुनुपर्छ । त्यही ऐना होस् भन्ने उद्देश्यले बनाइएको चलचित्र हो यो ।’ चलचित्रले दर्शकलाई प्रत्यक्ष रूपमा सन्देश दिनेभन्दा मनोरञ्जनमार्फत सन्देश दिने उनको भनाइ छ । करिब साढे दुई घण्टाको चलचित्र हेर्दा दर्शकले रमाइलो अनुभव गरून् र चलचित्र सकिएपछि त्यसले दिन खोजेको सन्देशबारे सोचसन् भन्ने उद्देश्य रहेको उनले बताए ।
उनले भने,‘धेरै सिनेमाहरूमा पढाउने, एकदम लेक्चर दिने, ‘यो गर, त्यो गर’ भन्ने हुन्छ। मैले चाहिँ मेरो सिनेमामा त्यसरी लेक्चर दिने सिनेमा बनाउँदिनँ। एउटा रमाइलो, इन्ट्रेस्टिङ, सस्पेन्स कथावस्तु हेर्दै जाँदा दर्शकले ढाई घण्टा आनन्दसँग इन्जोय गर्नुहोस् र त्यसपछि घर जाने बेलामा बाटोमा गइराखेको बेलामा ‘यो सिनेमाले त यो पनि सन्देश दिएको थियो’ भन्ने किसिमको महसुस गराओस् भन्ने मेरो चाहना हो।’

उनले चलचित्रमा सन्देशलाई औषधिसँग तुलना गरेका छन्। बाहिरबाट मिठो लाग्ने तर भित्र गएर प्रभाव पार्ने औषधिजस्तै चलचित्र पनि मनोरञ्जनात्मक होस् र त्यसले दर्शकको सोचमा प्रभाव पारोस् भन्ने आफ्नो उद्देश्य रहेको उनले बताए। ‘त्यो एउटा वैद्यबाको औषधि भन्छ नि, बाहिर चाहिँ मह लगाएको गुलियो अनि भित्र चाहिँ तितो औषधि भन्छ नि। त्यो औषधिजस्तै बाहिर चाहिँ मिठो होस्, मान्छेलाई आनन्द होस्, महसुसै नहोस् त्यो खाएको, निलेको महसुसै नहोस् तर पछि चाहिँ मान्छेलाई त्यसले काम गरोस्। औषधिको जस्तै काम गरोस् भन्ने चाहना छ मेरो,’ उनले भने।
‘
पोइ’ शब्द गाउँघरकै भाषाबाट
चलचित्रको शीर्षक ‘चमेलीको पोइ’ राख्नुको कारणबारे निर्देशक बोहराले ‘पोइ’ शब्द गाउँघरमा श्रीमान्को लागि प्रयोग हुने भएकाले त्यही स्थानीय भाषालाई शीर्षकमा समेटिएको बताए। उनका अनुसार चलचित्र चमेलीको श्रीमान्को कथामा आधारित छ। आफूले चलचित्रका नाम राख्दा गाउँघरमा बोलिने स्थानीय शब्द र पात्रको परिवेशलाई प्राथमिकता दिने गरेको उनले बताए।
उनले भने,‘यो पोइ भन्ने शब्द हस्ब्यान्ड हो, लोग्ने हो, जसको अर्थ श्रीमान् हो। अनि हाम्रो गाउँघरमा अहिले पनि पोइ भन्ने चलन छ लोग्नेलाई। आइमाईहरूले विशेषगरी एउटा साथीले अर्को साथीलाई ‘ए तेरो पोइ कहिले आउँछ ? तेरो पोइ कहाँ छ ?’ भनेर कुरा गर्ने चलन छ।’ उनले ‘ठूली’, ‘मुटु’, ‘कान्छा’ र ‘भैरे’ जस्ता चलचित्रका नाम पनि स्थानीय परिवेशबाट लिइएको उल्लेख गरे।
‘
त्यसो भएको हुनाले यो पनि एउटा टिपिकल नाम थियो अनि चमेलीको श्रीमान्को कथा हो यो। हाम्रो गाउँघरमा टपक्क बोलिने भाषालाई टिपेर ‘पोइ’ भन्ने शब्द राखेको हुँ। जुन धेरै मान्छेलाई क्याची पनि लाग्यो, रमाइलो पनि लाग्यो, के होला त भन्ने जस्तो पनि लाग्यो,’ उनले भने।
‘मान्छेलाई रुवाउनेभन्दा हँसाउन चाहन्छु’
निर्देशक बोहराले पछिल्लो समय चलचित्रमा दर्शकलाई रुवाउने प्रवृत्ति बढेको बताउँदै आफूले भने दर्शकलाई हँसाउन चाहेको बताए। उनका अनुसार जीवनमा प्राकृतिक विपत्ति, सामाजिक समस्या र अन्य पीडा पर्याप्त रहेकाले चलचित्र हेर्दा केही समय भए पनि दर्शकले खुसी र राहत महसुस गर्न पाउनुपर्छ।
‘अहिले दुई वर्ष कम्तीमा पनि पछाडिको समयमा एकदम धेरै रुवाउने सिनेमाहरू छन्। कतिपय सिनेमाहरूमा कथावस्तुले रुवाउँछ भने कतिपय सिनेमाहरूमा जबर्जस्ती नै रुवाउन पनि खोजिएको छ दर्शकलाई। त्यसरी जबर्जस्ती रुवाउनलाई चाहिँ म टर्चर भन्छु,’ उनले भने।
‘किन रुवाउने मान्छेलाई ?म रुदिनँ, म हाँसिराछु, खुसी छु तर मलाई एकदम हर्ट हुने कुरा केही भयो भने म रुन्छु। किन रुवाउने मान्छेलाई ? हँसाउँछु नि बरु। कसैलाई हँसाउनु, हँसाएर बिजनेस गर्नु, आफ्नो रोजीरोटी गर्नु, हँसाएर दर्शकलाई खुसी बनाएर दुई पैसा आर्जन गर्नु चाहिँ मेरो लागि खुसीको कुरा हो, धर्म जस्तो लाग्छ मलाई’, उनले थपे ।
उनले चलचित्रमा जीवनका सबै पक्ष समेटिनुपर्ने भए पनि दर्शकलाई अनावश्यक रूपमा पीडा दिन नहुने बताए। उनले भने,‘देशको स्थिति छ, बाढीपहिरो छ, प्राकृतिक डिजास्टरहरू छन्, विभिन्न कुराहरू यसै पनि भइराख्या छन् मान्छेको जिन्दगीमा। अझ पनि कति रुवाउने ? अब त अलिकति हँसाउँ न मान्छेलाई। अलिकति खुसी पनि हुन दिउँ न। फेरि चाडबाड आइराख्या छ, दसैँ आइराख्या छ, तिहार आइराख्या छ। मान्छेहरूलाई अलिकति मुस्कुराउने, अलिकति सास फेर्ने टाइम पनि होस् भन्ने उद्देश्यले मैले यो सिनेमा बनाएको हुँ,’ उनले भने।
‘
रुवाउनभन्दा हँसाउन गाह्रो छ’
बोहराले रुवाउनभन्दा हँसाउन गाह्रो हुने बताए। उनले आफ्नो नाट्य यात्राको सुरुवातदेखि नै कमेडीमा काम गरेको र मानिस हाँसेको आफूलाई मन पर्ने बताए। वास्तवमा रुवाउनभन्दा हँसाउन गाह्रो छ। यो धेरैले भनिराखेकै कुरा हो। म पनि भन्छु, मलाई पनि महसुस हुन्छ। तर मैले सिनेमाको सुरुआत, यो नाट्य क्षेत्रमा मैले जुन लागेँ त्यो बेलादेखि नै कमेडी नाटकहरूदेखि नै सुरु गरेको हुँ,’ उनले भने।
चलचित्रमा सन्देश र कमेडीलाई सन्तुलित रूपमा प्रस्तुत गर्न खोजिएको उनको भनाइ छ। उनले सस्तो वा अश्लील प्रकृतिको कमेडीभन्दा दर्शकले आफूलाई जोड्न सक्ने किसिमको हास्य प्रस्तुत गर्न खोजिएको बताए।
‘
म चाहिँ सस्तो चिप कमेडी भन्छ नि, त्यो चिप कमेडीमा विश्वास गर्दिनँ। मान्छेको सुरुवालको इँजार खोलिदिएर हँसाउने टाइपको मलाई कमेडी त्यस्तो राम्रो हुँदैन। फिजिकल कमेडी होस्, दर्शकले हेर्नुहुन्छ, उहाँले डाइरेक्ट्ली सिनेमामा हेरेर आफूलाई रिलेट गर्ने टाइपको कमेडी होस् र उहाँहरूलाई मजा आओस्,’उनले भने।
नारायण त्रिपाठीलाई पुरानै कमेडी छविमा फर्काउने प्रयास
‘
चमेलीको पोइ’मा कलाकार नारायण त्रिपाठीको सहभागितालाई निर्देशक बोहराले आफ्नो पुरानो मित्रतासँग जोडेर हेरेका छन्। उनका अनुसार बोहरा र त्रिपाठी १७–१८ वर्षको उमेरदेखि नै रंगमञ्चमा सँगै काम गर्दै आएका साथी हुन्। अमेरिकामा समेत केही समय उनीहरू सँगै थिए। बोहरा सन् २०११ मा अध्ययन सकेर नेपाल फर्किएपछि चलचित्र निर्माणमा पुनः सक्रिय भएका थिए। त्यसअघि उनले ‘अग्नि परीक्षा’, ‘कान्छा’लगायतका चलचित्र निर्माण गरिसकेका थिए।
नारायण त्रिपाठीलाई दर्शकले जुन प्रकारको कमेडी भूमिकामा मन पराउँदै आएका थिए, त्यही छविलाई नयाँ स्तरमा प्रस्तुत गर्न आफूले खोजेको बोहराले बताए। उहाँलाई जुन रूपमा उहाँले दर्शकलाई उहाँको अनुहार देख्नेबित्तिकै दर्शकलाई हाँसो लाग्थ्यो, त्यही नारायण त्रिपाठीलाई फिर्ता ल्याउन चाहन्थेँ मैले,’उनले भने।
उनका अनुसार चलचित्रको स्क्रिप्ट तयार भएपछि निर्माता रामनारायण उपाध्याय र सुनिता सापकोटाले पनि नारायण त्रिपाठीलाई उक्त भूमिकामा उपयुक्त हुने सुझाव दिएका थिए। बोहराले त्रिपाठीले चलचित्रमा यसअघिको भन्दा अझ फरक र परिपक्व अभिनय गरेको दाबी गरे।
उनले भने,‘यो रोलमा त भिनाजुको क्यारेक्टर छ उहाँको। यसमा त नारायण त्रिपाठी भए कस्तो राम्रो हुन्थ्यो भन्ने कुरा आयो। अनि मैले उहाँलाई स्क्रिप्ट पठाइदिएँ। उहाँले स्क्रिप्ट पढेपछि ‘मलाई त गज्जब लाग्यो सर, मलाई त एकदम दामी लाग्यो। ल, म आउँछु’ भन्नुभयो ।उहाँ अहिले ह्याप्पी हुनुहुन्छ, धेरै ह्याप्पी हुनुहुन्छ। त्यो पुरानो नारायण त्रिपाठी, ‘प्रेमचरो’ भन्ने जुन थियो, दर्शकहरूले अहिले फेरि आउँदै हुनुहुन्छ। त्यो भन्दा पहिलाको जुन उहाँहरूले कमेडी गरेर हँसाउनुहुन्थ्यो, त्यही टाइपको कमेडियन तर त्यो भन्दा नेक्स्ट लेभलमा अभिनय गर्नुभएको छ उहाँले’,उनले भने ।
विदेशी चलचित्रको दबाबबीच नेपाली चलचित्र
चलचित्र प्रदर्शनका लागि अहिले नेपाली बजारमा प्रतिस्पर्धा रहेको निर्देशक बोहराको भनाइ छ। उनले एकै समयमा धेरै चलचित्र प्रदर्शनमा आउँदा चुनौती भए पनि आफूहरू त्यसका लागि तयार रहेको बताए। आजको दिनमा करिब करिब २४ वटा, ३० वटा सिनेमा, २४ वटा भन्दा बढी सिनेमाहरू आज थिएटरमा छन्। अघिल्लो हप्ताको सिनेमा, त्यो हप्ता त्यो भन्दा अघिल्लो हप्ताका सिनेमाहरू पनि रनिङ भएर आइराखेको छ,’ उनले भने।
चलचित्र निर्माण गरिसकेपछि दर्शकसम्म पु¥याउनु नै आफ्नो जिम्मेवारी भएको उनको भनाइ छ। कुनै न कुनै समयमा सिनेमा बनाएपछि जसरी बच्चा गर्भमा आएपछि त्यो बच्चा जन्मिनुपर्छ, त्यसैगरी बच्चा जस्तै यो सिनेमा पनि अब यसलाई हलमा ल्याउनैपर्छ, दर्शकको समक्ष ल्याउनैपर्छ,’ उनले भने। चलचित्रलाई अमेरिकाका केही राज्यमा नेपाली दर्शकमाझ प्रदर्शन गरिसकिएको र त्यहाँबाट सकारात्मक प्रतिक्रिया पाएको उनले बताए।
उनले भने,‘अमेरिकामा केही दर्शकहरूलाई हामीले देखायौँ। ३–४ वटा स्टेटमा देखाउँदाखेरि धेरै रुचाउनुभयो। उहाँहरूले पार्ट २ को पनि डिमान्ड गर्नुभयो।’
निर्देशक बोहराले विदेशी चलचित्रको दबाबबीच नेपाली चलचित्र र संस्कृतिलाई संरक्षण गर्न नेपाली दर्शकको साथ आवश्यक रहेको बताएका छन्। उनले भने, “हामी विदेशी सिनेमाहरूको चापबाट चेपिएका छौँ, थिचिएका छौँ, मिचिएका छौँ। हामी जसरी सिमानाहरूमा मिचिएका छौँ, त्यसैगरी हाम्रो कला, संस्कृति, साहित्य, सिनेमा हरेक क्षेत्रमा हामी थिचिएका छौँ।”
नेपाली चलचित्रलाई दर्शकले साथ दिनुपर्ने बताउँदै उनले आफ्नो चलचित्र नेपाली माटो र नेपाली समाजको कथामा आधारित रहेको बताए।
‘त्यसको प्रतिकार गर्ने एउटा मात्र उपाय के हो भने हामीले हाम्रो संस्कृतिलाई माया गर्ने, हाम्रो कलालाई माया गर्ने, हाम्रो सिनेमालाई माया गर्ने नै एउटा उपाय हो। यहाँहरूले नेपाली सिनेमालाई सधैँ माया गरिदिनुहोला,’उनले भने।
‘चमेलीको पोइ’ असोज १६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ। दर्शकलाई चलचित्र हेर्न आग्रह गर्दै बोहराले भने, ‘मैले बनाएको सिनेमा ‘चमेलीको पोइ’ जुन अहिले नयाँ सिनेमा छ, असोज १६ गतेदेखि आउँदै छ। यो सिनेमालाई यहाँहरूले हेरिदिनुहोला। राम्रो लाग्यो भने ताली दिनुहोला, राम्रो लागेन भने गाली दिनुहोला तर चाहिँ सिनेमा चाहिँ अवश्य हेरिदिनुहोला, साथ दिनुहोला।’


