काठमाडौं । बैंकिङ प्रणालीमा रहेको तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको एकमहिने निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले असोज १४ गते २० अर्ब रुपैयाँको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको हो।
राष्ट्र बैंकका अनुसार ३० दिनका लागि निष्कासन हुने उक्त निक्षेप संकलन उपकरणको बोलकबोल असोज १४ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत मात्र गर्न सकिनेछ। बोलकबोलबाट प्राप्त ब्याजदरका आधारमा निक्षेप संकलन गरिनेछ।
उक्त उपकरणको साँवा तथा ब्याज कात्तिक १३ गते भुक्तानी हुनेछ। बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाले आफूले प्रस्ताव गर्ने ब्याजदर र निक्षेप रकम उल्लेख गर्नुपर्नेछ।
बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि १० करोड रुपैयाँले भाग जाने रकममा प्रस्ताव गर्न सकिनेछ। अधिकतम भने राष्ट्र बैंकले आह्वान गरेको कुल २० अर्ब रुपैयाँसम्म बोल गर्न सकिने व्यवस्था छ।
राष्ट्र बैंकले बोलकबोलबाट प्राप्त प्रस्तावमध्ये सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिँदै आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँट गर्ने जनाएको छ। समान ब्याजदरमा बोल गरिएका प्रस्तावको रकम कुल निष्कासनयोग्य रकमभन्दा बढी भएमा समानुपातिक अर्थात् प्रो–राटा आधारमा बाँडफाँट गरिनेछ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्रै सहभागी हुन पाउनेछन्। सहभागी संस्थाले राष्ट्र बैंकमा रहेको आफ्नो खाताबाट स्वीकृत बोलबमोजिमको रकम जम्मा गर्नुपर्नेछ।
स्वीकृत बोलबापतको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकस्थित खाताबाट कट्टा गरी छुट्टै खातामा जम्मा गरिनेछ। तोकिएको भुक्तानी मितिमा संकलित निक्षेप रकम सम्बन्धित संस्थाको राष्ट्र बैंकस्थित खातामा तोकिएको ब्याजसहित फिर्ता गरिनेछ।
राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत उठाएको रकमलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थाको लगानी पोर्टफोलियोमा समावेश गर्न नपाइने व्यवस्था गरेको छ। तर राष्ट्र बैंकको निर्देशनअनुसार उक्त रकमलाई वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा गणना गर्न सकिनेछ। अनिवार्य नगद मौज्दात (सीआरआर) मा भने गणना गर्न पाइने छैन।
त्यस्तै, भुक्तानी मिति अगावै सम्बन्धित बोलवालालाई उक्त निक्षेप फिर्ता गर्ने वा समयअगावै भुक्तानी गर्ने व्यवस्था नरहेको राष्ट्र बैंकले जनाएको छ।
बैंकिङ प्रणालीमा अधिक तरलता रहँदा राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट रकम खिच्दै आएको छ। यसअघि पनि केन्द्रीय बैंकले एकमहिने तथा अन्य अवधिका निक्षेप संकलन उपकरणमार्फत ठूलो रकम बैंकिङ प्रणालीबाट प्रशोचन गरेको थियो।
यसपटकको २० अर्ब रुपैयाँको निक्षेप संकलन पनि बैंकिङ प्रणालीको तरलता व्यवस्थापन गर्ने मौद्रिक उपकरणका रूपमा प्रयोग गर्न लागिएको हो।


