काठमाडौं । सानीमा बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकका अध्यक्ष टुकप्रसाद पौडेलको अध्यक्षतामा सोमबार सम्पन्न साधारणसभाले सञ्चालक समितिको प्रस्तावअनुसार आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण सेयरधनीलाई करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
साधारणसभाले अग्राधिकार सेयरधनीलाई करसहित ८.२५ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्तावसमेत पारित गरेको बैंकले जनाएको छ।
सभाबाट सार्वजनिक सेयरधनीका तर्फबाट तेजबहादुर चन्द र महेश घिमिरे सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन्।
बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सानीमा बैंकले रु. ३ अर्ब ५५ करोड खुद नाफा आर्जन गरेको छ। सो अवधिमा बैंकको कुल निक्षेप रु. २४९ अर्ब ९३ करोड र खुद कर्जा तथा सापटी रु. २०३ अर्ब ९९ करोड पुगेको छ। बैंकको कुल सम्पत्ति रु. २९१ अर्ब २१ करोड रहेको छ।
आर्थिक वर्ष २०८१/८२ को तुलनामा बैंकको कुल निक्षेप १०.८४ प्रतिशत, कर्जा तथा सापटी ११.१९ प्रतिशत र कुल सम्पत्ति १०.५० प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ।
२०२६ जुलाई मध्यसम्मको वित्तीय परिसूचकअनुसार बैंकको निष्क्रिय कर्जा (NPL) अनुपात २.८७ प्रतिशत, जोखिम भारित सम्पत्तिको तुलनामा पुँजीकोष अनुपात १२.८३ प्रतिशत र तरलता अनुपात ३०.६८ प्रतिशत रहेको छ। यस्तै, मासिक औसत कर्जा–निक्षेप अनुपात (CD Ratio) ८०.७७ प्रतिशत रहेको छ।
बैंकले साधारणसभाबाट पारित लाभांश तथा अन्य निर्णयसम्बन्धी विवरण सार्वजनिक गरेको हो।


