भोटेकोशी–त्रिशूली बाढीमा २० अर्ब ९८ करोडको बीमा दाबी, भुक्तानी ६७ लाख मात्रै

Headlines बैंक/वित्त

काठमाडौँ । भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिबापत बीमा कम्पनीहरूमा २० अर्ब ९८ करोड ८७ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार असोज १२ गतेसम्म विभिन्न निर्जीवन बीमा कम्पनीमा २ हजार १८० वटा दाबी परेका छन्।

प्राधिकरणका अनुसार अनुमानित दाबी रकम २० अर्ब ९८ करोड ८७ लाख रुपैयाँ रहेकामा हालसम्म अग्रिम भुक्तानीसमेत गरी ६७ लाख ४८ हजार रुपैयाँ मात्रै भुक्तानी भएको छ। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट रसुवासहित नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा भएको क्षतिसम्बन्धी दाबीको यो अद्यावधिक विवरण हो।

यसअघि प्राधिकरणले सम्भावित जोखिमसमेत समेटेर प्रारम्भिक क्षतिको रकम २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँभन्दा बढी रहेको विवरण सार्वजनिक गरेको थियो। पछि जोखिम एक्सपोजर र वास्तविक रूपमा परेको प्रारम्भिक दाबीबीच फरक छुट्याएर अद्यावधिक तथ्यांक सार्वजनिक गरिएको हो।

हिमालयन एभरेस्टमा रकम धेरै, शिखरमा दाबी संख्या बढी

कम्पनीगत रूपमा हेर्दा सबैभन्दा ठूलो रकमको प्रारम्भिक दाबी हिमालयन एभरेस्ट इन्स्योरेन्समा परेको छ। कम्पनीमा १५९ वटा दाबीबाट ६ अर्ब २७ करोड ५१ लाख ३९ हजार रुपैयाँ बराबरको अनुमानित दाबी परेको छ।

दाबी संख्याका आधारमा भने शिखर इन्स्योरेन्स अगाडि छ। शिखरमा ४०१ वटा दाबी परेका छन्। ती दाबीको अनुमानित रकम २ अर्ब ९९ करोड ५४ लाख ६४ हजार रुपैयाँ छ। शिखरले हालसम्म २६ लाख ६३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ।

सानिमा जीआईसीमा २४२ वटा दाबीबाट ३ अर्ब ५० करोड ७९ लाख ६८ हजार रुपैयाँ र सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २०७ वटा दाबीबाट १ अर्ब ९३ करोड ६८ लाख १८ हजार रुपैयाँ बराबरको अनुमानित दाबी परेको छ।

त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा २०५ वटा दाबीबाट १ अर्ब १२ करोड ३१ लाख ५७ हजार रुपैयाँ र नेको इन्स्योरेन्समा २४० वटा दाबीबाट १ अर्ब १ करोड ३६ लाख ८१ हजार रुपैयाँ बराबरको दाबी परेको छ।

आईजीआई प्रुडेन्सियलमा २२२ वटा दाबीबाट ८३ करोड ५० लाख ७४ हजार रुपैयाँ, युनाइटेड अजोडमा ७५ वटा दाबीबाट ८२ करोड ६२ लाख ४ हजार रुपैयाँ र दि ओरिएन्टल इन्स्योरेन्समा १९ वटा दाबीबाट ८२ करोड ३२ लाख ५७ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।

नेपाल इन्स्योरेन्समा १३१ वटा दाबीबाट ५६ करोड ११ लाख १५ हजार रुपैयाँ, प्रभु इन्स्योरेन्समा ११४ वटा दाबीबाट ५० करोड ३२ लाख १ हजार रुपैयाँ र एनएलसी इन्स्योरेन्समा ११० वटा दाबीबाट ४६ करोड ११ लाख ७० हजार रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणको विवरणमा उल्लेख छ।

सम्पत्ति बीमामा ९ अर्ब ४१ करोडको दाबी

बीमालेखको प्रकारअनुसार हेर्दा सबैभन्दा ठूलो रकमको दाबी सम्पत्ति बीमामा परेको छ। सम्पत्ति बीमातर्फ ५१८ वटा दाबीबाट ९ अर्ब ४१ करोड ५८ लाख ५९ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ। यसमध्ये ३८ लाख १४ हजार रुपैयाँ भुक्तानी भएको छ।

इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमातर्फ १६५ वटा दाबीबाट ४ अर्ब ४१ करोड ४५ लाख ५६ हजार रुपैयाँ बराबरको दाबी परेको छ।

दाबी संख्याका आधारमा भने मोटर बीमा अगाडि छ। मोटर बीमातर्फ १ हजार ६६ वटा दाबी परेका छन्। ती दाबीको अनुमानित रकम ३ अर्ब ७ करोड ९३ लाख ८० हजार रुपैयाँ छ।

परिवहन बीमातर्फ १०४ वटा दाबीबाट २ अर्ब ४८ करोड ५१ लाख ५५ हजार रुपैयाँ, अन्य बीमातर्फ २९९ वटा दाबीबाट १ अर्ब ३६ करोड ८५ लाख ५४ हजार रुपैयाँ र स्वास्थ्य बीमातर्फ २८ वटा दाबीबाट २२ करोड ५२ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।

दाबीको रकम अझै बढ्न सक्ने

बाढीबाट भएको भौतिक तथा पूर्वाधार क्षतिको यकिन विवरण संकलन र मूल्यांकनको काम जारी रहेकाले बीमा दाबीको संख्या र रकम अझै बढ्न सक्ने प्राधिकरणले जनाएको छ। बाढीबाट सम्पत्ति, सवारी साधन, परियोजना, व्यापारिक मौज्दातलगायतमा ठूलो क्षति भएकाले बीमा कम्पनीहरूमा दाबी पर्ने क्रम जारी छ।

दाबी भुक्तानीलाई सहज बनाउन प्राधिकरणले ‘रसुवा बाढी दाबी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि, २०८३’ समेत जारी गरेको छ। प्राधिकरणको वेबसाइटमा बाढीबाट भएको क्षतिको बीमा दाबी विवरण र उक्त कार्यविधि सार्वजनिक गरिएको छ।

कार्यविधिअनुसार सरल प्रकृतिका र प्राविधिक जटिलता नभएका ५ लाख रुपैयाँसम्मका दाबी बीमा कम्पनीले सर्भेयर नियुक्त नगरी आफ्नै कर्मचारीमार्फत निरीक्षण गराएर फछ्यौट गर्न सक्नेछन्। अनुमानित दायित्वको बढीमा ५० प्रतिशतसम्म अग्रिम दाबी भुक्तानी गर्न सकिने व्यवस्था पनि गरिएको छ।

बाढीका कारण बीमासम्बन्धी कागजात नष्ट भएको अवस्थामा फोटो, भिडियो, डिजिटल अभिलेख तथा सरकारी वा आधिकारिक प्रमाणका आधारमा दाबी मूल्यांकन गर्न सकिने व्यवस्था छ। सामान्य हदम्याद नाघेको वा प्रहरी प्रतिवेदन उपलब्ध नभएको आधारमा मात्रै दाबी अस्वीकार गर्न नपाइने व्यवस्था पनि कार्यविधिमा गरिएको छ।