काठमाडौं — नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्षमा चयन भएको छ। कतारको दोहामा जारी बैंकको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकले आगामी एक वर्षका लागि गैर–क्षेत्रीय सदस्य मुलुकतर्फको उपाध्यक्षमा नेपाललाई चयन गरेको हो।
एआईआईबीको संगठनात्मक संरचनाअनुसार बैंकमा एक जना अध्यक्ष तथा क्षेत्रीय र गैर–क्षेत्रीय सदस्य मुलुकबाट एक–एक जना उपाध्यक्ष रहने व्यवस्था छ। यसपटक गैर–क्षेत्रीय सदस्य समूहबाट नेपालसँगै आयरल्यान्ड पनि उपाध्यक्षमा चयन भएको छ।
वार्षिक बैठकका क्रममा अर्थमन्त्री एवं एआईआईबीका लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्लेले उपाध्यक्षको जिम्मेवारी औपचारिक रूपमा ग्रहण गरेका छन्।
बैठकको दोस्रो दिन आयोजित गभर्नर्स बिजनेस राउन्डटेबललाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले पूर्वाधारमार्फत हुने पुँजी निर्माण कम विकसित तथा विकासशील मुलुकको आर्थिक वृद्धिको महत्वपूर्ण आधार रहेको बताए।
उनले सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिजस्ता उत्पादनका प्रमुख पूर्वाधारमा लगानी विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए। विकासशील मुलुकको आवश्यकता र वित्तीय क्षमताअनुकूल हुने गरी एआईआईबीको लगानीलाई थप सहुलियतपूर्ण बनाउनुपर्ने उनको भनाइ थियो।
पूर्वाधार विकासका लागि सार्वजनिक स्रोत मात्र पर्याप्त नहुने भन्दै वाग्लेले स्वदेशी तथा विदेशी निजी पुँजी आकर्षित हुने गरी वित्तीय स्रोत परिचालन गर्नुपर्ने बताए। निजी क्षेत्रलाई पूर्वाधार लगानीमा जोड्न बैंकको वित्तीय साधन र लगानी संरचना थप प्रभावकारी बनाउनुपर्ने उनको धारणा थियो।
नेपालले एआईआईबीको उपाध्यक्षको जिम्मेवारी पाएसँगै बैंकको नीति, लगानी प्राथमिकता तथा विकासशील सदस्य मुलुकका पूर्वाधार आवश्यकतासम्बन्धी छलफलमा नेपालको भूमिका थप प्रत्यक्ष हुने अपेक्षा गरिएको छ।


