बाढीपछि विद्युत् आयोजना धमाधम सञ्चालनमा, सुखायाममा २३७२ मेगावाट उपलब्ध हुने अनुमान

Headlines आर्थिक

काठमाडौं । अविरल वर्षा र बाढीका कारण प्रभावित विद्युत् उत्पादन तथा वितरण प्रणाली क्रमशः सामान्य अवस्थामा फर्किन थालेको छ। बाढीका कारण आकस्मिक रूपमा बन्द भएका केही जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् भने प्रसारण लाइनका टावरमा क्षति पुगेका कारण केही आयोजना अझै सञ्चालनमा आउन सकेका छैनन्।

नेपाल विद्युत् प्राधिकरणका अनुसार असोज ९ गतेदेखि परेको अविरल वर्षाका कारण उत्पादन, प्रसारण र वितरणतर्फका विभिन्न संरचनामा क्षति पुगेको थियो। वर्षा रोकिएसँगै सम्बन्धित वितरण केन्द्र र ग्रिड सञ्चालन महाशाखाको समन्वयमा अधिकांश स्थानमा विद्युत् आपूर्ति पुनःसञ्चालन गरिएको छ। बाँकी क्षेत्रमा पनि लाइन सुचारु गर्न प्राविधिक टोली परिचालन गरिएको छ।

बाढीका कारण प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले प्रवर्द्धन गरेको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनामा क्षति पुगेको छ। आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको छ भने टरबाइन फ्लोरमा पानी पसेको छ। पानी सफा गरी आवश्यक मर्मतपछि आयोजना सञ्चालनमा आउन करिब १० दिन लाग्ने प्राधिकरणको अनुमान छ। आयोजनाको स्विचयार्ड भने सामान्य अवस्थामा रहेकाले चार्ज गरिसकिएको छ।

कुश्मा–दाना प्रसारण लाइनमा क्षति पुगेका कारण त्यसमा जोडिएका ७ वटा जलविद्युत् केन्द्रबाट १९० मेगावाट विद्युत् प्रसारण हुन सकेको छैन। राहुघाट सबस्टेसनमा जोडिएका बाढीका कारण अवरुद्ध आयोजनामध्ये ४० मेगावाटको राहुघाटबाहेक १२७ मेगावाट उत्पादन सञ्चालनमा आउन सक्ने अवस्थामा रहेको प्राधिकरणले जनाएको छ।

हाल प्रणालीबाट बाहिर रहेका ८ वटा विद्युत् आयोजनाको कुल क्षमता २३० मेगावाट रहेको छ। यता सेती–मादी करिडोरमा बाढीका कारण अवरुद्ध भएका २६२ मेगावाट र मर्स्याङ्दी करिडोरमा अवरुद्ध भएका १९० मेगावाट क्षमताका जलविद्युत् केन्द्र सञ्चालनमा आइसकेका छन्।

बाढीका कारण अवरुद्ध १४४ मेगावाटको कालीगण्डकी जलविद्युत् केन्द्र पनि आज बेलुकासम्म सञ्चालनमा ल्याउने प्राधिकरणको योजना छ।

दाना–कुश्मा प्रसारण लाइनका टावरमा क्षति

कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी प्रसारण लाइनको म्याग्दीस्थित दाना–कुश्मा खण्डका टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण प्राधिकरणले दिएको छ।

क्षतिग्रस्त स्थानलगायत अन्य क्षेत्रमा निरीक्षणका लागि जान विभिन्न ठाउँमा बाटो अवरुद्ध रहेकाले प्रसारण संरचनामा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्राधिकरणले जनाएको छ।

प्रसारण लाइनमा भएको क्षतिको प्रत्यक्ष असर त्यसमा जोडिएका जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न परेको छ। कालीगण्डकी करिडोरको दाना–कुश्मा खण्डमा क्षति हुँदा १२ वटा आयोजनाको उत्पादन प्रभावित भएको विवरणसमेत सार्वजनिक भएको छ।

प्रभावित जिल्लामा विद्युत् आपूर्ति फर्किँदै

केही दिनदेखि विद्युत् अवरुद्ध रहेका म्याग्दी, बागलुङ, तनहुँको झापुटार सबस्टेसन क्षेत्र र रुकुम पूर्वमा विद्युत् आपूर्ति सुचारु भएको प्राधिकरणले जनाएको छ।

मुस्ताङ, प्युठान र रोल्पामा आज अपराह्नसम्म विद्युत् आपूर्ति सुचारु गर्ने लक्ष्य राखिएको छ। मनाङमा भने भोलिसम्म विद्युत् सेवा सञ्चालन गर्ने योजना छ।

प्राधिकरणले वर्षाका कारण क्षतिग्रस्त वितरण संरचना मर्मतका लागि प्राविधिक टोलीलाई सम्बन्धित क्षेत्रमा खटाएको छ। वर्षा रोकिएपछि अधिकांश स्थानमा विद्युत् आपूर्ति सञ्चालन गर्न सकिएको र बाँकी क्षेत्रमा पनि काम भइरहेको जनाएको छ।

सुखायाममा २३७२ मेगावाट विद्युत् उपलब्ध गराउने योजना

प्राधिकरणले आगामी सुखायाममा विद्युत्को माग–आपूर्ति सन्तुलन कायम गर्न आन्तरिक उत्पादनसँगै भारतबाट विद्युत् आयात गर्ने योजना बनाएको छ।

सुखायाममा आन्तरिक उत्पादनबाट १ हजार २१८ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान गरिएको छ। माग–आपूर्ति सन्तुलनका लागि ढल्केबर–मुजफ्फरपुरबाट ६०० मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट ३५० मेगावाट र आरटीसीमार्फत १५० मेगावाट विद्युत् आयात गर्ने योजना छ।

यसरी कुल १ हजार १५४ मेगावाट विद्युत् विभिन्न माध्यमबाट आयात गर्ने र आन्तरिक उत्पादनसहित कुल २ हजार ३७२ मेगावाट विद्युत् उपलब्ध हुने प्राधिकरणको अनुमान छ।

गत सुखायाममा राष्ट्रिय विद्युत् मागको उच्चतम स्तर २ हजार २९२ मेगावाट पुगेको थियो। यस आधारमा आगामी सुखायाममा अनुमान गरिएको कुल विद्युत् उपलब्धता गत वर्षको उच्चतम मागभन्दा ८० मेगावाट बढी हुनेछ।

भोटेकोशी बाढीबाट ४३० मेगावाट प्रणालीबाहिर

भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले माथिल्लो त्रिशूली–३ बीको २२० केभी हबमा क्षति पुर्‍याएको थियो। विभिन्न जलविद्युत् केन्द्रमा पुगेको क्षतिका कारण पनि विद्युत् उत्पादन प्रभावित भएको प्राधिकरणले जनाएको छ।

भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको क्षतिका कारण कुल ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर रहेको छ। उक्त क्षेत्रमा प्राधिकरण र उसका सहायक कम्पनीका संरचनामा करिब ७४ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ।

यसरी एकातिर बाढीबाट क्षतिग्रस्त उत्पादन तथा प्रसारण संरचना पुनःस्थापना गर्ने काम भइरहेको छ भने अर्कोतिर आगामी सुखायामको माग धान्न आन्तरिक उत्पादन र विद्युत् आयातको व्यवस्थापनलाई प्राधिकरणले अघि बढाएको छ।