काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ दशमलव ४७ अंकले घटेर २ हजार ६१३ दशमलव ३३ विन्दुमा झरेको छ।
अघिल्लो कारोबार दिन ११ दशमलव ७७ अंकले बढेर २ हजार ६२९ दशमलव ८१ विन्दुमा पुगेको नेप्से सोमबार पुनः घटेको हो।
सोमबार ३५७ वटा कम्पनी तथा धितोपत्रको ५८ हजार ५ सय पटक कारोबार भएको छ। कारोबारमा १ करोड ३१ लाख ७८ हजार १२८ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ४४ करोड ७३ लाख रुपैयाँको कारोबार भएको थियो।

कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३५ करोड ८२ लाख १६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, शिवम् सिमेन्टको २९ करोड ७८ लाख रुपैयाँ र हाथवे इन्भेष्टमेन्टको १९ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये व्यापारबाहेक सबै उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूह ० दशमलव २३ प्रतिशतले बढेको छ।
बैंकिङ उपसमूह ० दशमलव १९, विकास बैंक ० दशमलव ६९, वित्त ० दशमलव ८५, होटल तथा पर्यटन ० दशमलव ८७, जलविद्युत् १ दशमलव ०३, लगानी १ दशमलव १६, जीवन बीमा ० दशमलव ८३, उत्पादन तथा प्रशोधन ० दशमलव ३०, लघुवित्त ० दशमलव ८२, म्युचुअल फन्ड ० दशमलव ७५, निर्जीवन बीमा १ दशमलव २० र अन्य उपसमूह ० दशमलव ५९ प्रतिशतले घटेका छन्।
निर्जीवन बीमा उपसमूहमा सबैभन्दा ठूलो गिरावट आएको छ।
सोमबार ५० वटा कम्पनी तथा धितोपत्रको मूल्य बढेको छ भने २२३ वटाको घटेको छ। लक्ष्मी सनराइज डिबेन्चर २०९२ का इकाईधनीले सबैभन्दा धेरै कमाएका छन्। उक्त डिबेन्चरको मूल्य १५ प्रतिशतले बढेको छ। त्यस्तै, केबीएल डिबेन्चर १२ दशमलव १७ प्रतिशत र प्राइम बैंक डिबेन्चर ८ दशमलव ८३ प्रतिशतले बढेका छन्।
घट्नेमा हाथवे इन्भेष्टमेन्टका लगानीकर्ता अगाडि छन्। कम्पनीको सेयर मूल्य १० दशमलव ५८ प्रतिशतले घटेको छ।
सेन्सेटिभ इन्डेक्स १ दशमलव ३४ अंक, फ्लोट इन्डेक्स १ दशमलव ११ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ४८ अंकले घटेको छ।
पछिल्ला कारोबार दिनमा बजारमा उतारचढाव कायमै रहेको छ। गत साता नेप्से २ हजार ६२९ दशमलव ८१ विन्दुमा बन्द भएको थियो।


