दुर्गा प्रसाईं फेरि पक्राउ

Headlines राजनीति

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले सोमबार बिहान भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको हो।

साइबर ब्युरोका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गरिएको हो। काठमाडौं जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति लिएर उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रसाईंले सामाजिक सञ्जालमार्फत सांसद खतिवडालाई लक्षित गर्दै उनका छोराको मृत्युसँग जोडेर आपत्तिजनक अभिव्यक्ति दिएको आरोप छ। उक्त अभिव्यक्तिप्रति खतिवडाले प्रतिनिधिसभा बैठकमै आपत्ति जनाउँदै प्रसाईंमाथि कारबाहीको माग गरेकी थिइन्।

साइबर ब्युरोका प्रवक्ता एसपी दिलीपकुमार गिरीका अनुसार प्रसाईंविरुद्ध परेको उजुरीका आधारमा पक्राउ गरिएको हो। उनका अनुसार प्रसाईंमाथि विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइनेछ।

प्रसाईंले सामाजिक सञ्जालमा सांसद खतिवडालाई लक्षित गर्दै ‘छोराको शवसँग सांसद पद साटेको’ भन्ने अभिव्यक्ति दिएको प्रहरीले जनाएको छ।

पक्राउपछि प्रसाईंलाई साइबर ब्युरोमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। प्रसाईं यसअघि पनि विभिन्न आरोपमा पक्राउ पर्दै कानुनी कारबाहीको प्रक्रियामा आएका छन्।