सशस्त्र प्रहरीसँगको विवादपछि कञ्चनपुर भन्सारका अधिकृत भट्ट विभागमा तानिए

Headlines समाचार

काठमाडौं । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीका प्रमुख एसपी खुमबहादुर केसीबीच उत्पन्न विवादबारे थप छानबिन गर्न भन्सार विभागले भट्टलाई जिम्मेवारीबाट हटाएर विभागमा हाजिर हुन निर्देशन दिएको छ ।

विवादसम्बन्धी विभिन्न विवरण सार्वजनिक भएपछि घटनाबारे थप बुझ्नुपर्ने देखिएको भन्दै विभागले भट्टलाई तत्कालका लागि कञ्चनपुर भन्सार कार्यालयको जिम्मेवारीबाट हटाएको हो ।

भन्सार विभागका अनुसार भट्टलाई त्रिपुरेश्वरस्थित विभागको केन्द्रिय कार्यालयमा हाजिर हुन पत्राचार गरिएको छ । विभागले सार्वजनिक भएका विवरण तथा घटनाको वास्तविकताबारे थप जानकारी लिएपछि आवश्यक निर्णय गर्ने जनाएको छ ।

भट्ट र एसपी केसीबीच उत्पन्न विवादबारे विभिन्न विवरण सार्वजनिक भएपछि विभागले आफ्नो तर्फबाट थप अध्ययन गर्न भन्सार अधिकृतलाई विभागमा बोलाएको हो । विभागले यो कदम भट्टमाथि कारबाहीका रूपमा नभई घटनाबारे थप बुझ्न तत्कालका लागि जिम्मेवारीबाट हटाएर विभागमा हाजिर गराइएको जनाएको छ ।