त्रिपुरेश्वर बस आगलागी : गम्भीर घाइते चालकको उपचारका क्रममा मृत्यु

Headlines समाचार

काठमाडौँ । सोमबार काठमाडौँको त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु भएको छ। उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार उपचारका क्रममा चालकको मृत्यु भएको हो।

सोमबार मध्यान्ह ऋद्धिसिद्धि यातायातको बसमा आगलागी हुँदा चालक गम्भीर घाइते भएका थिए। चिकित्सकका अनुसार उनको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो।

आगलागीपछि सुरक्षाकर्मी र स्थानीयले चालकलाई बसबाट उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याएका थिए।

त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको हो ।

बरिष्ठ प्रहरी उपरीक्षक एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । समितिलाई पाँच दिनको समय दिइएको छ ।

सोमबार दिउँसो साढे १२ बजेतिर भक्तपुरबाट थानकोट जाने क्रममा बसमा आगलागी भएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार बसका चालक २५ वर्षीय दावा लामा घाइते भएका छन् । उनलाइ उपचारका लागि बर्न अस्पताल कीर्तिपुर लगिएको सुवेदीले बताए । उनको अवस्था गम्भीर छ ।

गाडीमा आगो लाग्नुको कारण खोजी भइरहेको एसपी सुवेदीले बताए ।

साथै एक प्रत्यक्षदर्शीका अनुसार बस आगलागी भएको देखिएपनि कारण खुल्न सकेको छैन् ।

कसरी आगलागी भयो भन्नेबारे थाहा नभएको ति प्रत्यक्षदर्शीले नेपाल न्यूज बैंकसँग बताए ।

ड्राइभरको सिट नजिकैबाट आगलागी भएको देखिएको उनले बताए । आगलागीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरणसमेत आउन बाँकी रहेको छ ।