वालेट प्रयोगकर्ताले असोज मसान्तभित्र राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्ने

Headlines अर्थ बैंक/वित्त समाचार

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय वालेट खोल्ने तथा प्रयोग गर्ने सम्बन्धमा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ । अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायकले राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसार विवरण यकिन गरेर मात्रै वालेट खाता खोल्नुपर्ने व्यवस्था गरिएको हो ।

राष्ट्र बैंकका अनुसार भुक्तानी सेवा प्रदायकले २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्तासँग राष्ट्रिय परिचयपत्रको विवरण भए–नभएको स्वःघोषणा लिनुपर्नेछ । राष्ट्रिय परिचयपत्र लिइसकेका नेपाली नागरिकको हकमा सोही अवधिभित्र सम्बन्धित वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्नेछ ।

राष्ट्रिय परिचयपत्र नलिएका नेपाली नागरिकलाई भने परिचयपत्र लिएपछि ग्राहक पहिचानसम्बन्धी विवरण अद्यावधिक गर्न जानकारी गराउनुपर्नेछ । यसका लागि भुक्तानी सेवा प्रदायकले मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट प्रत्येक महिना सम्बन्धित वालेट प्रयोगकर्तालाई जानकारी दिने व्यवस्था मिलाउनुपर्नेछ ।

विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसेर अनलाइनमार्फत विद्युतीय वालेट खोल्नुपर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर नभए पनि अन्य आवश्यक कागजातका आधारमा वालेट खोल्न सक्ने व्यवस्था गरिएको छ ।

यसरी विदेशबाट खोलिएको वालेटको हकमा भने सम्बन्धित प्रयोगकर्ता नेपाल फर्किएको ३५ दिनभित्र भुक्तानी सेवा प्रदायकले राष्ट्रिय परिचयपत्रको विवरण लिएर अद्यावधिक गर्नुपर्नेछ ।

त्यस्तै, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त तथा असहाय नागरिकले पनि राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर नभए अन्य आवश्यक कागजात संलग्न गरेर वालेट खोल्न र कारोबार गर्न सक्ने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वालेट प्रयोगकर्तालाई आफ्नो विवरण समयमै अद्यावधिक गर्न आग्रह गरेको छ ।