आईएमएफ प्रमुखको चेतावनी : विश्व अर्थतन्त्रमा एकैसाथ देखिँदैछन् अनेक जोखिम

Headlines अन्तराष्ट्रिय

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

न्युयोर्क । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले विश्व अर्थतन्त्रले विभिन्न चुनौतीका बीच अपेक्षाभन्दा बढी लचकता देखाए पनि आगामी दिनमा महत्वपूर्ण जोखिम र अनिश्चितता कायमै रहने बताएकी छन्।

अमेरिकाको न्युयोर्कमा आइतबार आयोजित कतार इकोनोमिक फोरमको विशेष कार्यक्रममा बोल्दै जर्जिएभाले उच्च मुद्रास्फीति, बढ्दो ऋण सेवा लागत र कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा भइरहेको तीव्र लगानीलाई विश्व अर्थतन्त्रका प्रमुख सम्भावित जोखिमका रूपमा औंल्याएकी हुन्।

उनका अनुसार विश्वका विभिन्न मुलुकमा मुद्रास्फीति अपेक्षाअनुसार छिटो घट्न सकेको छैन। मुद्रास्फीतिको समस्या तत्काल समाधान हुने अवस्था नरहेकाले मूल्य स्थिरता कायम गर्न केही केन्द्रीय बैंकले मौद्रिक नीति थप कडा बनाउनुपर्ने अवस्था आउन सक्ने उनले बताइन्।

मूल्य स्थिरता कायम गर्ने प्रयाससँगै ऋणको सेवा लागत पनि बढिरहेको उनको भनाइ छ। सरकारहरूले वित्तीय अनुशासन कायम गर्नुपर्ने आवश्यकता स्वीकार गरे पनि त्यसअनुसार पर्याप्त कदम चाल्न अझै बाँकी रहेको उनले बताइन्।

एआईमा बढ्दो लगानीमा सावधानी

जर्जिएभाले पछिल्लो समय तीव्र गतिमा विस्तार भइरहेको एआई क्षेत्रमा भइरहेको लगानीसँग सम्बन्धित सम्भावित जोखिमप्रति पनि सावधानी अपनाउनुपर्ने बताइन्।

उनका अनुसार एआई क्षेत्रमा उच्च अपेक्षाका साथ ठूलो मात्रामा लगानी भइरहेको छ। यस क्रममा ऋणमा आधारित लगानी र एकअर्कासँग जोडिएका वित्तीय कारोबार बढ्दै गएकाले जोखिमसमेत बढ्न सक्ने उनले उल्लेख गरिन्।

एआई प्रविधिबाट अपेक्षाअनुसार प्रतिफल प्राप्त हुन नसके लगानीकर्तामा निराशा उत्पन्न हुन सक्ने र त्यसको प्रभाव व्यापक वित्तीय प्रणालीसम्म पुग्न सक्ने सम्भावनातर्फ उनले ध्यानाकर्षण गराइन्।

जर्जिएभाका अनुसार एआई क्षेत्रसँग सम्बन्धित वित्तीय जोखिम मुख्य रूपमा संयुक्त राज्य अमेरिकामा केन्द्रित भए पनि एसिया र युरोपका धेरै मुलुक एआईको विश्वव्यापी आपूर्ति शृंखलासँग जोडिएका छन्। त्यसैले यस क्षेत्रमा ठूलो उतारचढाव आए त्यसको प्रभाव अन्य अर्थतन्त्रमा समेत पर्न सक्ने उनले बताइन्।

करिब ३ प्रतिशतको वृद्धि महत्वपूर्ण उपलब्धि

विभिन्न चुनौतीका बाबजुद विश्व अर्थतन्त्रले देखाएको लचकतालाई जर्जिएभाले सकारात्मक रूपमा लिएकी छन्।

ऊर्जा आपूर्ति संकट, मुद्रास्फीति, उच्च ऋण लागत तथा अन्य आर्थिक झट्काबीच पनि विश्व अर्थतन्त्रमा करिब ३ प्रतिशतको आर्थिक वृद्धि कायम रहनु महत्वपूर्ण उपलब्धि भएको उनले बताइन्।

ऊर्जा आपूर्तिमा देखिएको संकट समाधान गर्न आवश्यक समयमा विभिन्न पक्षबाट तीव्र र प्रभावकारी कदम चालिएको उदाहरणले आफूलाई आशावादी बनाएको पनि उनले उल्लेख गरिन्।

विश्व अर्थतन्त्रमा सहकार्य र परस्पर निर्भरता कायमै

विश्व अर्थतन्त्र थप विभाजित हुँदै गएको चर्चा भइरहे पनि मुलुकहरूबीचको परस्पर निर्भरता र सहकार्य अझै महत्वपूर्ण रहेको जर्जिएभाको भनाइ छ।

उनका अनुसार विश्व पहिलेको तुलनामा कम एकीकृत देखिए पनि व्यापार, लगानी, प्रविधि तथा आपूर्ति शृंखलाका कारण मुलुकहरू अझै एकअर्कासँग गहिरोसँग जोडिएका छन्।

“विश्व थप विभाजित भएको चर्चा भइरहेको छ। वास्तवमै विश्व पहिलेभन्दा कम एकीकृत भएको छ। तर पनि हामी एकअर्कामा निर्भर छौँ र सहकार्य गरिरहेका छौँ,” उनले भनिन्।

अक्टोबरमा नयाँ आर्थिक प्रक्षेपण

आईएमएफले आगामी अक्टोबरमा विश्व अर्थतन्त्रसम्बन्धी नयाँ प्रक्षेपण सार्वजनिक गर्ने तयारी गरेको छ। जर्जिएभाका अनुसार उक्त प्रक्षेपणमा विश्व अर्थतन्त्रमा विद्यमान जोखिम र अनिश्चितताको अवस्थालाई समेत समेटिनेछ।

उनले आगामी दिनमा विश्व अर्थतन्त्रका चुनौती र जोखिमप्रति सरकार, केन्द्रीय बैंक तथा निजी क्षेत्र सबैले सावधानी अपनाउनुपर्नेमा जोड दिइन्।

“हामी सावधान र सतर्क रहनुपर्छ। जोखिम उच्च छन् र अनिश्चितता नै नयाँ सामान्य अवस्था बनेको छ,” उनले भनिन्।