भारत भ्रमणमा पुनर्निर्माणदेखि लगानीसम्म, अर्थमन्त्री वाग्ले स्वदेश फर्किए

Headlines अर्थ

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतसँगको आर्थिक सहकार्य विस्तार, भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा सहयोग र नेपालमा भारतीय लगानी बढाउने विषयलाई प्राथमिकतामा राखेर तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन्।

भारत सरकारको निमन्त्रणामा बिहीबार नयाँदिल्ली पुगेका अर्थमन्त्री वाग्लेले भ्रमणका क्रममा भारतीय समकक्षी निर्मला सीतारमण र विदेशमन्त्री डा. एस जयशङ्करसँग भेटवार्ता गर्नुका साथै कूटनीतिक, आर्थिक–व्यावसायिक र प्राज्ञिक मञ्चमा नेपालको आर्थिक प्राथमिकता प्रस्तुत गरेका छन्।

भ्रमणका क्रममा नेपालले भोटेकोशी बाढीबाट भएको क्षति र पुनर्निर्माणका लागि भारतसँग थप सहयोग र सहकार्यको प्रस्ताव गरेको छ। बाढीपछि उद्धार तथा राहतमा भारत सरकारले गरेको सहयोगप्रति नेपाल सरकारका तर्फबाट धन्यवादसमेत दिइएको अर्थमन्त्री वाग्लेको सचिवालयले जनाएको छ।

अर्थमन्त्री वाग्लेले नेपाल–भारत सम्बन्धलाई राजनीतिक र कूटनीतिक सम्बन्धमा मात्र सीमित नराखी आर्थिक सहकार्यलाई नयाँ ढङ्गबाट अघि बढाउनुपर्नेमा जोड दिएका छन्। उनले ऊर्जा, पूर्वाधार, व्यापार, लगानी र कनेक्टिभिटीलगायत क्षेत्रमा सहकार्य विस्तारका विषय उठाएका छन्।

भारतीय समकक्षी सीतारमणसँग बिहीबार भएको भेटमा नेपाल–भारत आर्थिक सहकार्यका विभिन्न आयामबारे छलफल भएको थियो। त्यसपछि शुक्रबार भारतीय विदेशमन्त्री जयशङ्करसँगको भेटमा दुई देशबीचको राजनीतिक, आर्थिक तथा कूटनीतिक सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।

शुक्रबार पूर्वविदेशसचिव श्यामशरणले आयोजना गरेको उच्चस्तरीय कूटनीतिक संवादमा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै अर्थमन्त्री वाग्लेले नेपाल–भारत आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउनुपर्ने बताएका थिए। उनले व्यापार, लगानी, ऊर्जा र कनेक्टिभिटीलाई दुई देशको आर्थिक सहकार्यको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेका थिए।

भ्रमणका क्रममा भारतीय व्यवसायी र उद्योगीहरूसँगको भेटलाई पनि सरकारले प्राथमिकता दिएको थियो। भारत व्यापार प्रवर्द्धन सङ्गठनका अध्यक्ष जावेद असरफले आयोजना गरेको बृहत् भेटघाट तथा भारतीय उद्योग परिसङ्घको कार्यक्रममा सहभागी हुँदै वाग्लेले भारतीय उद्योगी–व्यवसायीलाई नेपालमा नयाँ लगानी गर्न र नेपालमा सञ्चालनमा रहेका भारतीय कम्पनीलाई लगानी विस्तार गर्न आग्रह गरेका थिए।

भारतीय उद्योग परिसङ्घको कार्यक्रममा उनले नेपालमा ऊर्जा, उत्पादनमूलक उद्योग, डिजिटल अर्थतन्त्र, उच्च मूल्यका कृषि उत्पादन, पर्यटन र प्रविधिलगायत क्षेत्रमा लगानीका अवसर रहेको बताएका थिए। नेपाललाई भारतीय व्यवसायीले केवल बजारका रूपमा नभई उत्पादन, मूल्य अभिवृद्धि र क्षेत्रीय आपूर्ति शृङ्खलासँग जोडिने साझेदारका रूपमा हेर्नुपर्ने उनको भनाइ थियो।

अर्थमन्त्रीले नेपालमा लगानीको वातावरण सुधार गर्न सरकार नीतिगत स्थिरता, पारदर्शिता, लगानी सहजीकरण र संरचनागत आर्थिक सुधारमा केन्द्रित रहेको बताएका थिए। भारतीय लगानीकर्तालाई नेपालमा लगानीका नयाँ अवसर खोज्न आग्रह गर्दै उनले विद्यमान लगानी विस्तारका लागि समेत सरकार सहजीकरण गर्न तयार रहेको बताएका थिए।

भ्रमणका क्रममा प्रवासी नेपालीहरूको प्रतिनिधिमण्डलसँग समेत अर्थमन्त्रीले भेट गरेका थिए। त्यस्तै, दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गरेको विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै उनले नेपालको आर्थिक विकास र रूपान्तरणका विषयमा धारणा राखेका थिए।

संविधान दिवसका अवसरमा नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा समेत सहभागी भएपछि अर्थमन्त्री वाग्ले शनिबार नै स्वदेश फर्किएका हुन्। छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत गएका वाग्लेको भ्रमणमा मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी थिए।

तीनदिने भ्रमणमा भएका उच्चस्तरीय भेटवार्ता र आर्थिक संवादले नेपाल–भारत सम्बन्धमा पुनर्निर्माण, ऊर्जा, व्यापार तथा लगानीलाई आर्थिक सहकार्यको प्रमुख एजेन्डाका रूपमा अघि बढाएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।