संविधान लोकतन्त्रको रक्षा र जनताको बलिदानको प्रतिफल हो : केपी शर्मा ओली

Headlines राजनीति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान लामो राजनीतिक संघर्ष, जनताको त्याग र बलिदानको प्रतिफल भएको बताएका छन् । संविधान दिवसका अवसरमा एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै ओलीले संविधान जारी भएपछि बितेको १२ वर्षको अवधि सहज नभएको बताए ।

‘हामी १२औँ संविधान दिवस मनाइरहेका छौँ । यसबीचका समयहरू सहज रहेनन्। अप्ठ्याराहरू रहे, उतारचढावहरू रहे,’ उनले भने, ‘यसबीचमा वास्तवमा लोकतन्त्रलाई लोकतान्त्रिक प्रणालीका रूपमा सञ्चालन गर्न, यसको रक्षा गर्न र अगाडि बढाउन साना चुनौतीहरूको सामना गर्नुपरेन । ठूला चुनौतीहरूको सामना ग¥यौँ । निरन्तर चुनौतीहरूको सामना ग¥यौँ । आक्रमणको सामना ग¥यौँ । संविधानको रक्षा र कार्यान्वयन गर्दै अगाडि बढिरहेका छौँ ।’

ओलीले संविधान र लोकतान्त्रिक प्रणालीको रक्षा तथा कार्यान्वयनका क्रममा ठूला चुनौतीहरूको सामना गर्नुपरेको बताए । संविधान जारी गर्नु दोस्रो संविधानसभाको उपलब्धिमा मात्र सीमित नरहेको धारणा राखे । नेपाली जनताले लामो समयदेखि न्यायपूर्ण, समतामूलक, समृद्ध, विकसित र सुविधासम्पन्न मुलुक निर्माणको आकांक्षा राख्दै आएको उनले बताए ।

उनका अनुसार ती आकांक्षा पूरा गर्ने क्रममा विभिन्न कालखण्डमा नेपाली जनताले संघर्ष, योगदान र बलिदान गरेका छन् । उनले भने, ‘अहिलेभन्दा सय वर्ष अगाडि, अहिलेभन्दा ९० वर्ष अगाडिदेखि सुरु भएका सुसंगठित प्रयासहरू र ती प्रयासका क्रममा गर्नुपरेको योगदान तथा बलिदान, बगाउनुपरेको आँसु र बेहोर्नुपरेका क्षतिहरूको प्रतिफल संविधान हो ।’

ओलीले संविधान प्राप्तिको यात्रालाई नेपालको लामो राजनीतिक संघर्षसँग जोड्दै विगतका शासन व्यवस्थामा पनि जनताका न्याय र अधिकारसम्बन्धी आकांक्षा रहेको बताए । उनले ती आकांक्षालाई संस्थागत गर्दै संविधानको रक्षा र कार्यान्वयनलाई अघि बढाउनुपर्ने बताए ।