काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संविधानको प्रभावकारी कार्यान्वयन र संरक्षणका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
संविधान दिवसका अवसरमा शुभकामना सन्देशमा जारी गर्दै उनले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट २०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको ऐतिहासिक दिन रहेको बताए ।
सभामुख अर्यालले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतालाई सम्मान गर्दै राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र समृद्धिका लागि एकताबद्ध हुन संविधान दिवसले प्रेरणा दिने विश्वास व्यक्त गरे ।
उनले संविधानको सफल कार्यान्वयन र संरक्षणमा सङ्घीय संसद्को भूमिका महत्वपूर्ण रहँदै आएको बताए । उनले समयसापेक्ष कानून निर्माण तथा परिमार्जन, जनसरोकारका विषय उठान र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि सङ्घीय संसद् प्रतिबद्ध रहेको उल्लेख गरे । संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरे ।
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका आन्दोलन तथा पछिल्लो समय भएको जेनजी प्रदर्शनका क्रममा जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जलीसमेत अर्पण समेत गरे ।


