काठमाडौं , गरिमा विकास बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कुल रु. १ करोड १ लाख ११ हजार १ सय ११ सहयोग गर्ने घोषणा गरेको छ।
बैंकले भदौ १० गते आएको बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंक तथा कर्मचारीको संयुक्त पहलमा सहयोग घोषणा गरेको हो।
बैंकका अनुसार कर्मचारीको तर्फबाट एक दिनको तलब तथा भत्ताबापत रु. १६ लाख २० हजार ५ सय ५० र बैंकको तर्फबाट रु. ३४ लाख ९० हजार ५ सय ६१ गरी कुल रु. ५१ लाख ११ हजार १ सय ११ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको छ।
यसैगरी, बैंकले प्रभावित क्षेत्रको शिक्षा, स्वास्थ्य तथा नागरिकको पुनःस्थापना सम्बन्धी कार्यक्रमका लागि संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कोषबाट स्थानीय निकायसँगको समन्वयमा थप रु. ५० लाख बराबरको प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
बैंकले प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गर्दै राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासलाई प्रभावकारी बनाउन सरकारी तथा सुरक्षा निकाय, स्थानीय समुदाय, गैरसरकारी संस्था र अन्य सरोकारवालाबीचको सहकार्य आवश्यक रहेको जनाएको छ।


