‘झिङ्गेदाउ २’ मा आँचल : पात्रसँगै परिपक्व हुँदै गएको अभिनय यात्रा

मनोरंजन

काठमाडौं । नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ । पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण टिम उत्साहित छ ।

अभिनेत्री आँचल शर्मा पनर ‘झिङ्गेदाउ २’ पहिलो भागभन्दा मनोरञ्जन, रमाइलो र सन्देशका हिसाबले अझ समृद्ध रहेको दाबी गर्छिन् ।

आँचलका अनुसार पहिलो भाग दर्शकले मन पराइसकेकाले दोस्रो भागमा टिममाथि स्वाभाविक रूपमा दबाब रहेको बताउँछिन् ।

‘झिङ्गेदाउ’ ले बनाएको अपेक्षा पूरा गर्न सकिन्छ कि सकिँदैन भन्ने चिन्ता रहेपनि आफूहरू सफल हुने महसुस भइरहेको उनको भनाइ छ ।

‘वान’को कम्पेरिजनमा सबै कुरा एडेड छ जस्तो लाग्छ । इन्टरटेनमेन्ट पनि डबल छ, रमाइलो पनि डबल छ र सन्देश पनि डबल छ जस्तो लाग्छ,’ नेपाल न्यूज बैंकको विशेष कुराकानीमा आँचल भन्छिन् ।

उनका लागि ‘झिङ्गेदाउ’ केवल एउटा चलचित्र नभएर अभिनय यात्राकै महत्वपूर्ण मोड हो । चलचित्रमा काम गर्नुअघि निर्देशक ज्ञानेन्द्र देउजाको फिल्मी पृष्ठभूमिबारे आफू धेरै परिचित नभए पनि स्क्रिप्ट सुनेपछि र निर्देशकको कामप्रतिको लगाव देखेपछि चलचित्रमा जोडिएको उनी बताउँछिन् ।

विशेष कुरा त के भने, ‘झिङ्गेदाउ’ अघि आफूले निर्वाह गरेका भूमिकाभन्दा चलचित्रको पात्र बिल्कुलै फरक भएकाले सुरुमा आफूलाई नै किन छनोट गरियो भन्ने लागेको थियो ।

‘मैले ‘यसमा मलाई किन रोज्नुभएको ? यो त केही सेन्स नै गरेन’ जस्तो भएको थियो । गर्दिनँलाई गर्देको चलचित्र हो खासमा,’ उनी सम्झिन्छिन् ।

तर निर्देशक देउजाको कामप्रतिको समर्पण र उनको पुराना चलचित्रबारे खोजेपछि भने आफूले केही सिक्ने उद्देश्यले काम गरेको आँचल बताउँछिन् । अपेक्षा नगरेको चलचित्र नै आफ्नो जीवनभर सम्झनलायक काममध्ये एक बनेको उनको अनुभव छ ।

छ वर्षपछि बदलिएको अनुभूति

पहिलो र दोस्रो भागबीच करिब छ वर्षको अन्तर छ । यही अन्तरले चलचित्रका पात्र मात्र नभई कलाकारको व्यक्तिगत परिपक्वतामा समेत प्रभाव पारेको आँचलको अनुभव छ ।

‘सिक्स इयर्सपछि ‘टु’ आइरहँदाखेरी डेफिनेट्ली एउटा पात्रमा पनि परिमार्जन हुँदै आयो जस्तो लाग्छ । म, आँचल शर्मा पनि ठूलो हुँदै आएँ जस्तो लाग्छ, अझै सिकेँ जस्तो लाग्छ,’ उनी भन्छिन् ।

समयसँगै आफूमा आएको परिपक्वताले पात्रलाई पहिलेभन्दा विभिन्न कोणबाट बुझ्न र न्याय गर्न सहज भएको उनको बुझाइ छ ।

केकीसँगको ट्युनिङले सहज बनायो घमासान दृश्य

‘झिङ्गेदाउ २’ मा आँचल र केकी अधिकारीबीचका झगडाका दृश्यले पनि दर्शकको ध्यान तान्ने अपेक्षा गरिएको छ । पर्दामा देखिने घमासान दृश्यको पछाडि भने दुई अभिनेत्रीबीचको राम्रो सम्बन्धले महत्वपूर्ण भूमिका खेलेको आँचल बताउँछिन् ।

‘दिदी म तपाईंलाई भुताल्छु, तपाईं मैंले भुतालेको जस्तो गर्नु भनेर भनेपछि हाम्रो ट्युनिङ मिल्थ्यो,’ उनी भन्छिन् ।

केकीसँगको मित्रता र आपसी समझदारीका कारण कठिन दृश्यहरू पनि सहज भएको उनको भनाइ छ । एकअर्कासँग सल्लाह गरेर दृश्य तयार गर्ने भएकाले अभिनयमा स्वाभाविकता ल्याउन मद्दत पुगेको उनले बताइन् ।

तर पर्दामा देखिने झगडा त्यति सहज भने थिएन । रुख चढेर अभिनय गर्नुपर्ने दृश्यले उनलाई निकै डराएको थियो । त्यति अग्लो रुखमा कहिल्यै नचढेको र त्यसमाथि हिँड्दै अभिनय गर्नुपर्ने भएकाले दुर्घटनाको डरसमेत लागेको उनी सम्झिन्छिन् ।

‘म अत्तालिहालेँ भने केकी दिदीले समातिहाल्नुहुन्थ्यो र केकी दिदी अत्तिँदा मैले समातिहाल्थेँ,’

त्यस्तै, चलचित्रमा हुने कुटपिटका दृश्यले शारीरिक पीडा पनि दिएको उनले खुलाइन् । कपाल दुख्ने, लड्दा नीलडाम बस्ने ा आए पनि चलचित्र राम्रो चलेपछि ती सबै सम्झना रमाइलो लाग्ने उनको विश्वास छ ।

छुच्चोपना निकाल्न अभिनयले साथ दियो

आँचलको वास्तविक जीवनको स्वभाव र चलचित्रको पात्रबीच पनि केही भिन्नता छ । आफू स्पष्ट रूपमा कुरा राख्ने भए पनि पर्दामा देखाइने किसिमको लुछाचुँडी र झगडा भने वास्तविक जीवनमा नगरेको उनी बताउँछिन् ।

तर पात्रभित्रको छुच्चोपना र आक्रामकता आफूभित्र केही हदसम्म रहेको उनको स्वीकारोक्ति छ । त्यसलाई बाहिर ल्याउन स्क्रिप्ट, सहकलाकार र विशेषगरी केकीको अभिनयले सहयोग गरेको उनले बताइन् ।

उनका अनुसार सहकलाकारले दिएको प्रतिक्रिया र ऊर्जा नै अभिनयलाई जीवन्त बनाउने महत्वपूर्ण आधार हो ।

‘झिङ्गेदाउ २’ केवल झगडाको कथा होइन

चलचित्रमा देखाइने पारिवारिक झगडा र बुहारी–सासूबीचको सम्बन्ध अहिलेको समाजमा कति सान्दर्भिक छ भन्ने प्रश्नमा आँचलको धारणा फरक छ ।

उनको बुझाइमा झगडाको शैली समयसँगै बदलिएको हुन सक्छ, तर पारिवारिक मनमुटाव र सम्बन्धमा आउने उतारचढाव अझै समाजका विभिन्न तहमा विद्यमान छन् ।

नेपाल काठमाडौं मात्र नभएको र विभिन्न भूगोल तथा समुदायमा फरक–फरक सामाजिक यथार्थ रहेको भन्दै उनी चलचित्रले धेरै दर्शकलाई आफ्नै परिवेशसँग जोड्न सक्ने बताउँछिन् ।

उनका अनुसार चलचित्रको उद्देश्य केवल मनोरञ्जन दिनु होइन, दर्शकलाई आत्ममूल्याङ्कन गर्ने अवसर दिनु पनि हो ।

‘हामीले चाहिँ यी बुहारीहरू जस्तो गर्नुहुँदैन है, यी पात्रहरूले जस्तो झगडा गर्नुहुँदैन । समाज हामीले त यसरी लानुपर्छ, हाम्रो घरगृहस्थी यसरी लानुपर्छ भन्ने सिक्ने मौका पनि हो जस्तो लाग्छ,’ उनी भन्छिन् ।

आँचल बुहारीलाई दबिएर बस्नुपर्ने परम्परागत धारणाको पक्षमा छैनन् । उनका लागि बुहारी हुनु भनेको निश्चित सामाजिक भूमिकामा सीमित हुनु होइन, मानवताको हिसाबले आफ्नो जिम्मेवारी पूरा गर्नु हो ।

‘झिङ्गेदाउ २’ मा पनि परिवारको माहोल

पहिलो भागमा काम गरेका कलाकारबीच बनेको पारिवारिक सम्बन्ध दोस्रो भागमा पनि निरन्तर रहेको आँचल बताउँछिन् । पहिलो भागमा आफू, केकी, कुशल र महेशजीबीच परिवारकै सदस्यजस्तो सम्बन्ध बनेको उनको अनुभव थियो ।

दोस्रो भागमा नयाँ कलाकार थपिँदा सुरुमा पहिलो भागकै जस्तो सम्बन्ध बन्ने हो कि होइन भन्ने अन्योल भए पनि अन्ततः त्यही पारिवारिक माहोलमा चलचित्र पूरा भएको उनको भनाइ छ ।

झकझकाउने अपेक्षा

आँचलका लागि ‘झिङ्गेदाउ २’ मनोरञ्जनसँगै सामाजिक सन्देश बोकेको चलचित्र हो । परिवार, सम्बन्ध, बुहारीको भूमिका, आमा–छोराबीचको सम्बन्ध र बदलिँदो सामाजिक परिवेशलाई चलचित्रले उठाएको उनको बुझाइ छ ।

विशेषगरी आमाप्रति सन्तानले राख्ने द्वेष र त्यसले निम्त्याउने पीडाले दर्शकलाई भावनात्मक रूपमा झकझकाउने उनको अपेक्षा छ ।

अब उनको प्रतीक्षा भने दर्शकसँगको भेटको हो । चलचित्र असोज २ गते प्रदर्शनमा आउने भएकाले दर्शकलाई हलसम्म पुगेर चलचित्र हेर्न उनी आग्रह गर्छिन् ।

‘भरपुर इन्टरटेनमेन्ट छ । हलमा आएर त्यो तीन घण्टा बाँधेर राख्छ फिल्मले भन्न चाहन्छु,’ आँचलले भनिन् ।

पहिलो भागलाई दिएको माया दोस्रो भागले पनि पाउने अपेक्षा गर्दै उनी दर्शकलाई धन्यवाद दिन्छिन् । उनका लागि ‘झिङ्गेदाउ २’ एउटा चलचित्र मात्र नभएर छ वर्षपछि फेरि भेटिएको पात्र, पुरानो टिम र नयाँ अनुभवको संगम पनि हो । जसमा अभिनयसँगै मित्रता, संघर्ष, पारिवारिक सम्बन्ध र नेपाली समाजको एउटा परिचित कथा जोडिएको छ ।

आकांक्षा धामी, नेपाल न्यूज बैंक