प्रधानमन्त्री शाहसँग चार ठूला व्यवसायीको छलफल

Sticky News समाचार

आर्थिक अवस्था, लगानी वातावरण, निजी क्षेत्रका समस्या र रोजगारी सिर्जनाबारे छलफल

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार उद्योगी तथा व्यवसायीसँग मुलुकको आर्थिक अवस्थाबारे छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छलफलमा उद्योगी–व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन्।

छलफलमा मुलुकको आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको छ।

सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने विषयमा पनि छलफल केन्द्रित रहेको बताइएको छ।

त्यस्तै, लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण, निजी क्षेत्रको लगानी बढाउने तथा आर्थिक गतिविधिलाई गति दिने विषयमा पनि व्यवसायीले प्रधानमन्त्रीसँग आफ्ना धारणा राख्नेछन्।

अर्थतन्त्रमा सुस्तता देखिएको र निजी क्षेत्रले लगानी विस्तारका लागि नीतिगत तथा व्यावसायिक चुनौती रहेको बताउँदै आएका बेला प्रधानमन्त्रीले ठूला व्यवसायीसँग छलफल गरेका हुन्। छलफललाई सरकार र निजी क्षेत्रबीच आर्थिक विषयमा प्रत्यक्ष संवाद बढाउने प्रयासका रूपमा हेरिएको छ।