नेप्से १३ अंकले ओरालो, कारोबार रकम पनि घट्यो

Headlines बैंक/वित्त

काठमाडौं — साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १३ अंकभन्दा बढीले घटेको छ। अघिल्लो दिनको गिरावटलाई निरन्तरता दिँदै नेप्से १३.८५ अंकले घटेर २ हजार ५३१.५५ विन्दुमा झरेको हो।

यस दिन बजारका सबै १३ वटा उपसमूहको परिसूचक घटेका छन्। उत्पादन तथा प्रशोधन उपसमूह सबैभन्दा बढी १.१४ प्रतिशतले घटेको छ। निर्जीवन बीमा उपसमूहको परिसूचक पनि करिब १ प्रतिशतले ओरालो लागेको छ।

नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ। बुधबार ४ अर्ब १९ करोड रुपैयाँबराबरको सेयर कारोबार भएकोमा बिहीबार ३४१ वटा स्टकको ४४ हजार १९८ पटकको कारोबारबाट ४ अर्ब ९ लाख ७१ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ। यस दिन १ करोड ५ लाख ८८ हजार कित्ता सेयर कारोबार भएको हो।

यस दिन सेन्सेटिभ इन्डेक्स २.४० अंकले घटेको छ। फ्लोट इन्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८० अंकले घटेका छन्।

बजार घटे पनि लिबर्टी इनर्जीको सेयरमा भने सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयरमूल्य ३२ रुपैयाँ १० पैसाले बढेर २४६ रुपैयाँ १० पैसा पुगेको छ। दोल्ती पावरको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी र अपर लोहोरे खोला हाइड्रोपावरको ७ प्रतिशतले बढेको छ।

यस दिन सिन्धु विकास बैंकको सेयरमूल्य सबैभन्दा धेरै १४.९८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा लिबर्टी इनर्जी शीर्ष स्थानमा रहेको छ। कम्पनीको ४५ करोड ४८ लाख ८८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्सको २१ करोड रुपैयाँभन्दा बढी र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

बजारमा लगातार दोस्रो दिन गिरावट आउँदा १३ वटै उपसमूह राताम्मे भएका छन्। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही घटेको छ। यसले पछिल्ला कारोबारमा बजारमा खरिदको तुलनामा बिक्री चाप केही बढेको देखाएको छ।