ओमानलाई ८७ रनले हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

Headlines खेलकुद

६० रनमै समेटियो ओमान, सन्दीप र दीपेन्द्रको तीन–तीन विकेट; फाइनलमा यूएईसँग भिड्ने

काठमाडौं — नेपाल एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको सेमिफाइनलमा ओमानलाई ८७ रनले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान नेपाली बलरसामु टिक्न सकेन। ओमान १८.१ ओभरमा ६० रनमै अलआउट भयो।

ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक २५ तथा जितेन रामानन्दीले १३ रन बनाए। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

ओमानलाई सस्तैमा समेट्ने क्रममा कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले तीन–तीन विकेट लिए। ललित राजवंशी र रोहित पौडेलले दुई–दुई विकेट लिए।

सन्दीपले ६ ओभरमा एक मेडन राख्दै ९ रन मात्र खर्चिए। दीपेन्द्रले पनि ६ ओभरमा ११ रन दिए। ललितले ५ ओभरमा दुई मेडनसहित १२ रन खर्चिए भने रोहितले ४.१ ओभरमा एक मेडनसहित ७ रन दिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४७ रनमा अलआउट भएको थियो। नेपालको माथिल्लो क्रम फेरि कमजोर देखिए पनि दीपेन्द्रसिंह ऐरी र बसिर अहमदले पारी सम्हाल्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याएका थिए।

दीपेन्द्रले ५१ रन बनाए। उनले ७२ बलमा चार चौकासहित अर्धशतक पूरा गरे। बसिरले ८८ बलमा एक छक्का र तीन चौकासहित ४७ रन बनाए।

नेपालले ३६ रन जोड्दा चार विकेट गुमाइसकेको थियो। त्यसपछि दीपेन्द्र र बसिरले महत्वपूर्ण साझेदारी गर्दै नेपालको स्कोर उकासे।

ओपनर देव खनालले १३ र आसिफ शेखले ११ रन बनाए। ईशान पाण्डे एक, रोहित पौडेल तीन, गुलशन झा सात, करण केसी पाँच र कप्तान सन्दीप लामिछाने तीन रनमा आउट भए। शेर मल्ल र ललित राजवंशीले खाता खोल्न सकेनन्।

ओमानका जय विरम ओडेडारा र हसनैन शाहले तीन–तीन तथा मुहम्मद इमरानले दुई विकेट लिए। मुजीबुर अली र शकिल अहमदले एक–एक विकेट लिए।

नेपालले अब शनिबार हुने फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्नेछ। यूएईले दोस्रो सेमिफाइनलमा हङकङलाई सात विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो।

हङकङले दिएको ७० रनको लक्ष्य यूएईले ११.१ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको थियो। यूएईका लागि तनिश सुरीले २७, अदिव उस्मानीले १६ र अक्षदीप नाथले ११ रन बनाए।

बलिङतर्फ यूएईका हैदर अलीले १० ओभरमा तीन मेडनसहित १४ रन खर्चिएर ६ विकेट लिए।

नेपाल र यूएईबीचको फाइनल शनिबार बायुमास ओभलमै हुनेछ। प्रतियोगिताको विजेता टोलीले २०२७ मा बंगलादेशमा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ। आगामी एसिया कपमा पूर्ण सदस्यका रूपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान छनोट भइसकेका छन्।