सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ : सांसद न्यौपाने

Headlines समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले सुरुङभित्र फसेका ६ जनाको उद्धारको सम्भावना अझै जीवित रहेको बताएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै न्यौपानेले ‘आशा नमारौँ, उद्धारको प्रयास नरोकौँ–सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ’ भनेका हुन् ।

उनका अनुसार बुधबार अस्थायी सडकलाई सुरुङको मुखसम्म पु¥याएर उत्खनन यन्त्र र माटो–ढुंगा उठाउने यन्त्रमार्फत रात्रीकालीन पालो सञ्चालन गरी चौबीसै घण्टा सुरुङभित्रको लेदो बाहिर निकाल्ने योजना बनाइएको थियो। तर विद्युत् जडानमा भएको ढिलाइसँगै पहिरो, दलदल तथा विस्फोटसम्बन्धी गतिविधिका कारण सडक विस्तारको काम सुरुङको मुखसम्म पुग्न सकेन ।

बिहीबार थप दुई वटा उत्खनन यन्त्र घटनास्थलमा पुगेको र सडक सुरुङको मुखबाट करिब ४० मिटर नजिक पुगेकाले उद्धार कार्य तीव्र गतिमा अघि बढ्ने विश्वास न्यौपानेले व्यक्त गरे ।

नेपाली सेना र भारतीय सेनाको संयुक्त टोलीले हातैले लेदो पन्छाउने, आवश्यक विस्फोट गर्ने तथा सडक विस्तारको कामलाई निरन्तरता दिइरहेको उनले बताए ।

१२ वर्षको आफ्नो निरन्तर विस्फोटसम्बन्धी अनुभवका आधारमा आवश्यक सावधानी अपनाएर गरिने नियन्त्रित विस्फोटले उद्धारमा बाधा पु¥याउनुको सट्टा उद्धारको गति बढाउन सक्ने तर्क आफूले प्रस्तुत गरेको न्यौपानेले बताए ।

सुरुङभित्र प्रतिसेकेन्ड करिब ९ लिटर पानी चुहावट भइरहेको आधारमा २४ हजार घनमिटर पानी चापमा थुनिएको हुनसक्ने र यसले जोखिम निम्त्याउन सक्ने आयोजनाका इन्जिनियरको चासोप्रति पनि आफ्नो ध्यानाकर्षण भएको उनले बताए ।

उनका अनुसार डिजाइनअनुसार जलविद्युत् गृहभित्र पानी र लेदोले आफ्नो सतह कायम गरेपछि माथिल्लो भागमा बढीमा ८ मिटरसम्म खाली स्थान रहन सक्ने देखिन्छ ।

६० मिटर लम्बाइ, २० मिटर चौडाइ र २५ मिटर उचाइको जलविद्युत् गृहलाई आधार मान्दा माथिल्लो भागको खाली स्थान, हावाको दबाब तथा पानी चुहावटको सम्भावित प्रवेश क्षेत्रलाई समेत विचार गर्दा २४ हजार घनमिटर पानी थुनिएर बस्ने सम्भावना प्राविधिक रूपमा नदेखिएको उनले बताए ।