सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गर्नुभएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज तथा उद्धार, राहत वितरण र घाइतेहरूको उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिन र आवश्यक निर्देशन दिन प्रधानमन्त्री शाहले यो छलफल बोलाउनुभएको हो।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले प्रधानमन्त्री शाहले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहनुभएको छ। छलफलका क्रममा बाढी प्रभावित क्षेत्रमा सेनाले चलाएको उद्धार कार्य र आगामी कार्ययोजनाबारे जानकारी लिइएको छ।
प्रधानसेनापति सिग्देलसँगको छलफललगत्तै प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि आजै छलफल गर्ने कार्यक्रम रहेको छ।
विपदपछिको परिस्थितिमा शान्ति सुरक्षा कायम राख्न, राहत सामग्री पारदर्शी र प्रभावकारी रूपमा वितरण गर्न तथा प्रभावित जनतालाई शीघ्र पुनर्स्थापना गर्न तीनवटै सुरक्षा निकायको एकीकृत भूमिकाबारे प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने जनाइएको छ।


