रामेछाप । जंगलमा पाइने अल्लोलाई आम्दानीको स्रोतमा परिणत गर्दै रामेछापको अति सीमान्तकृत थामी समुदायले गाउँमै रोजगारी सिर्जना गरेका छन् ।
दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवामा सामूहिक लगानीमा सञ्चालित अल्लो प्रशोधन तथा कपडा उद्योगले स्थानीय परम्परागत सीप र श्रमलाई गाउँकै अर्थतन्त्रसँग जोडेको छ ।
शैलुङको जंगलमा प्राकृतिक रूपमा पाइने अल्लोलाई सङ्कलन गरी प्रशोधन गरेर धागो निकाल्ने र त्यसबाट विभिन्न प्रकारका कपडा उत्पादन गर्ने काम सो उद्योगले गर्दै आएको छ । गाउँमै स्थापना भएको उद्योगले रोजगारी सिर्जना गर्नुका साथै परम्परागत सीप समेत हस्तान्तरण गरेको छ । आफ्ना बाजे बेजैहरूबाट यो सिप सिकेको उद्योगका सञ्चालनक सदस्य मंगले थामी बताउँछन् ।

उद्योगमा हाल दैनिक आठ जना श्रमिकले प्रत्यक्ष रूपमा काम गर्दै आएका छन् भने अल्लो काट्ने तथा लोक्ता निकाल्ने मौसममा भने गाउँका धेरै मानिसहरूले काम पाउने उनले जानकारी दिए । अल्लोको लोक्ता निकालेर चर्खाबाट धागो तयार गरी स्थानीय प्रविधिबाट नै धागो रंग्याएर हाते मेसिनको प्रयोगबाट उद्योगमा कपडा बनाइने गरिन्छ ।
प्राकृतिक र स्थानीय कच्चा पदार्थबाट हातैले तयार गरिने भएकाले अल्लोका कपडा स्वास्थ्यका दृष्टिले उपयोगी मानिन्छन् । बलियो, न्यानो र टिकाउ हुनुका साथै मौलिक नेपाली उत्पादन भएकाले यसको बजारसमेत राम्रो माग छ । उद्योगमा उत्पादित कपडा रामेछाप र आसपासका जिल्लासहित काठमाडौं तथा पूर्वी नेपालका झापासम्म पुग्ने गरेको छ ।
थामी समुदायले सञ्चालन गरेको अल्लो उद्योग केवल कपडा उत्पादन गर्ने थलो मात्र नभई स्थानीय स्रोत र साधनको सदुपयोगमार्फत ग्रामीण अर्थतन्त्र बलियो बनाउन सकिने उदाहरण बनेको छ । यसलाई प्रवर्धन गर्न संघ, प्रदेश र स्थानीय सरकोको थप सहयोग स्थानीयले अपेक्षा गरेका छन् ।


