अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ५५ अर्ब रुपैयाँ निक्षेप उठाउँदै

Headlines अर्थ बैंक/वित्त

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज ५५ अर्ब रुपैयाँ बराबरको दुईमहिने निक्षेप संकलन उपकरणको बोलकबोल गर्ने भएको छ। बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार बुधबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत बोलकबोल गर्न सकिनेछ। उपकरण आजै निष्कासन हुनेछ भने यसको साँवा तथा ब्याज भुक्तानी कात्तिक १८ गते हुनेछ।

यस उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँका दरले भाग लिनुपर्ने व्यवस्था गरिएको छ। सहभागीले आफूले माग गरेको कुल रकमसम्म बोल गर्न सक्नेछन्।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। बोलकबोलमा उल्लेख गरिएको रकम र ब्याजदरका आधारमा निक्षेप संकलनको बाँडफाँट गरिनेछ।

राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोलकबोलकर्तालाई प्राथमिकता दिँदै माग गरिएको रकमसम्म क्रमशः बाँडफाँट गर्ने जनाएको छ। समान ब्याजदरमा बोल रकम कुल निष्कासन रकमभन्दा बढी भएमा प्रो–राटा आधारमा बाँडफाँट गरिनेछ।

बैंकले आवश्यकताअनुसार बोलकबोलको सम्पूर्ण वा आंशिक रकम स्वीकार वा अस्वीकार गर्न सक्नेछ।

निक्षेप संकलन उपकरणबापतको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकस्थित खाताबाट खर्च गरी लिइने र संकलित निक्षेपका लागि छुट्टै खाता खोलिने व्यवस्था छ।

निक्षेप संकलन उपकरणको भुक्तानी मितिमा निर्धारित ब्याजसहितको रकम सम्बन्धित बैंकको राष्ट्र बैंकस्थित खातामा जम्मा गरिनेछ।

राष्ट्र बैंकका अनुसार यसरी संकलन भएको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको लगानी पोर्टफोलियोमा गणना भए पनि अनिवार्य नगद मौज्दात (सीआरआर)मा भने गणना गर्न पाइने छैन। तर राष्ट्र बैंकले तोकेको वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न सकिनेछ।