काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भोटेकोशी बाढीका कारण विभिन्न क्षेत्रमा अझै बेपत्ता रहेका नागरिकको तत्काल खोजी र उद्धार गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
सोमबार साँझ बसन्तपुरमा आयोजित दीप प्रज्वलन कार्यक्रममा बोल्दै घिसिङले विपत्तिमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे । उनले घाइते तथा अपांगता भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता रहेकाहरूको छिटोभन्दा छिटो उद्धार हुनुपर्ने बताए ।
‘नेपाल सरकार र सम्बन्धित निकायलाई जुन–जुन ठाउँमा, सुरुङहरूमा र विभिन्न ठाउँमा अझै पनि बेपत्ता रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूको सकुशल उद्धार कार्यमा रातदिन नभनी छिटोभन्दा छिटो उद्धार गर्नको लागि पनि हामी अनुरोध गर्दछौँ, ध्यानाकर्षण गर्दछौँ,’ घिसिङले भने ।
घिसिङले पछिल्लो विपत्तिलाई नेपालको इतिहासकै ठूलो प्रलयकारी बाढीका रूपमा चित्रण गर्दै यसबाट ठूलो मानवीय क्षति भएको बताए । बाढीपहिरोमा नेपाली युवा, इन्जिनियर तथा प्राविधिकसहित ठूलो संख्यामा नागरिकले ज्यान गुमाउनुपरेको भन्दै उनले यस घटनाले सबैलाई गहिरो दुःखमा पारेको बताए ।
‘यो नेपालको इतिहासमा सबभन्दा ठूलो प्रलयकारी बाढी यो क्षेत्रमा आएको छ। हजारौँ नेपाली दाजुभाइ दिदीबहिनीहरूले, युवाहरूले, इन्जिनियरहरूले, प्राविधिकहरूले ज्यान गुमाउनु परेको छ । यो वास्तवमा यो इतिहासमा एउटा अत्यन्तै नसोचेको घटना हुन पुगेको छ,’ उनले भने ।
उनले विपत्तिमा ज्यान गुमाएका परिवारप्रति राज्य र नागरिक सबैले एक भएर साथ दिनुपर्नेमा जोड दिए । शोकलाई शक्तिमा बदलेर प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनस्र्थापनामा अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
उनले आगामी दिनमा यस्ता विपत्तिबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वाधार निर्माण, सडक निर्माण तथा बस्ती विकास गर्दा प्राकृतिक विपत्तिको जोखिमलाई गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताए ।
घिसिङले अब विपत्तिपछि राहत र उद्धारमा मात्र केन्द्रित नभई दीर्घकालीन पुनर्निर्माण र सुरक्षित पूर्वाधार विकासमा समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।
‘आगामी दिनमा यस्ता घटनाबाट हामी बच्नको लागि र आगामी दिनमा यस्ता घटनाहरू हुन नदिनको लागि हामीले पूर्वाधार बनाउँदा र सडक निर्माण गर्दा र बस्ती विकास गर्दा यस्ता विषयहरूलाई पनि ध्यानमा दिएर अगाडि बढ्नुपर्नेछ,’ उनले भने ।
प्रभावित क्षेत्रमा विस्थापित परिवारको पुनस्र्थापना, परिवारका सदस्य गुमाएकालाई सहयोग तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणका लागि देशभित्र र बाहिर रहेका सबै नेपाली एकजुट भएर सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।
घिसिङले विपत्तिबाट पाठ सिक्दै प्रभावित क्षेत्र तथा सम्बन्धित करिडोरको दीर्घकालीन विकास र समृद्धिका लागि विशेष पहल गर्न नेपाल सरकारसँग आग्रह गरे ।
‘नेपाल सरकारलाई यो घटनाबाट पाठ सिकेर अब यो क्षेत्रको, त्यो करिडोरको विकासको लागि, समृद्धिको लागि विशेष पहल गर्न पनि म हार्दिक अनुरोध गर्दछु,’ उनले भने ।


