काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको व्यावसायिक मूल्य थप बढेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको विश्वव्यापी ओटीटी, नेपालका लागि टेलिभिजन र टिकटिङ अधिकार बिक्रीबाट कम्तीमा ३३ करोड ५३ लाख रुपैयाँ पाउने भएको छ।
क्यानले सोमबार एनपीएलको तेस्रो संस्करणका लागि मिडिया तथा टिकटिङ अधिकारका विजेता घोषणा गरेको हो। विश्वव्यापी ओटीटी अधिकार नेटटीभी प्रालिले १८ करोड ४ लाख रुपैयाँमा पाएको छ। नेपालभित्रको लिनियर टेलिभिजन अधिकार हिमालय टेलिभिजन नेटवर्कले १४ करोड ६४ लाख रुपैयाँमा पाएको छ।
त्यस्तै, टिकटिङ अधिकार इसेवा लिमिटेडले ८५ लाख रुपैयाँमा पाएको छ। टिकटिङ अधिकारबापतको ८५ लाख रुपैयाँसहित तीनवटै अधिकारबाट क्यानले ३३ करोड ५३ लाख रुपैयाँ पाउनेछ। टिकट बिक्रीबाट प्राप्त हुने आम्दानीको ९५ प्रतिशत पनि क्यानले पाउनेछ भने इसेवाले ५ प्रतिशत पाउनेछ।
ओटीटी अधिकारका लागि नेटटीभीले १८ करोड ४ लाख रुपैयाँ कबोल गरेको हो। यो अधिकारका लागि डीगो स्ट्रिमले १७ करोड रुपैयाँको प्रस्ताव गरेको थियो। दुई कम्पनीले मात्र ओटीटी अधिकारका लागि बोलपत्र पेस गरेका थिए।
नेपाल क्षेत्रको टेलिभिजन प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्कले पाएको छ। यसअघि एनपीएलको प्रसारण अधिकारको मूल्यको तुलनामा यसपटकको रकम उल्लेख्य बढेको छ। उपलब्ध विवरणअनुसार हिमालयले करसहित १७ करोड २४ लाख रुपैयाँको बोली लगाएको थियो, जसमा करबाहेकको रकम १४ करोड ६४ लाख रुपैयाँ हो।
एनपीएलको प्रसारण तथा टिकटिङ अधिकारको मूल्य बढ्नुले प्रतियोगिताको व्यावसायिक सम्भावना विस्तार हुँदै गएको संकेत गरेको छ। खेलाडी, फ्रेन्चाइज, प्रसारण, डिजिटल प्लेटफर्म, टिकटिङ र प्रायोजन जोडिने एनपीएल नेपाली क्रिकेटको प्रमुख व्यावसायिक खेल आयोजना बन्दै गएको छ।
क्यानले तेस्रो संस्करणलाई थप व्यवस्थित र प्रभावकारी बनाउन अधिकार प्राप्त कम्पनीसँग सहकार्य गर्ने जनाएको छ। नेटटीभीले विश्वव्यापी डिजिटल प्रसारण र हिमालय टेलिभिजनले नेपालमा टेलिभिजन प्रसारण गर्नेछन् भने इसेवाले टिकट बिक्री व्यवस्थापन गर्नेछ।
ओटीटीतर्फ क्यानले नेपालमा करसहित अधिकतम ४ सय रुपैयाँ, खाडी मुलुकमा ६ सय रुपैयाँ र अन्य देशमा १० अमेरिकी डलरसम्म सदस्यता शुल्क लिन सक्ने व्यवस्था गरेको छ।
एनपीएलको दोस्रो संस्करणमा पनि प्रसारण तथा डिजिटल अधिकारमार्फत ठूलो व्यावसायिक कारोबार भएको थियो। तेस्रो संस्करणमा अधिकारको मूल्य थप बढ्नुले नेपाली क्रिकेटमा दर्शक र बजार दुवै विस्तार भइरहेको देखाएको छ।


