काठमाडौं , नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष मनिष कोइरालासहित तरुण दलका पदाधिकारी तथा सदस्यहरूले स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा सञ्चालित होल्डिङ सेन्टरमा रहेका विपद्पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेका छन्।
तरुण दलका अनुसार होल्डिङ सेन्टरमा आश्रय लिइरहेका **१०० परिवारलाई आवश्यक सामग्री** हस्तान्तरण गरिएको हो। विपद्का कारण प्रभावित परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले राहत सामग्री वितरण गरिएको जनाइएको छ।

यसैबीच, विपद्का क्रममा आमा–बुवा गुमाएका २० जना विद्यार्थीको उच्च शिक्षासम्मको अध्ययनको जिम्मेवारी नेपाल तरुण दलले अभिभावकत्व ग्रहण गर्दै लिने घोषणा गरेको छ।
तरुण दलले ती विद्यार्थीलाई उच्च शिक्षासम्म निःशुल्क अध्ययनको व्यवस्था मिलाउने जनाएको छ। विपद्का कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्न दीर्घकालीन सहयोग गर्ने उद्देश्यले उक्त निर्णय गरिएको हो।
राहत वितरण तथा विद्यार्थीको अभिभावकत्व ग्रहण कार्यक्रममार्फत विपद्पीडित परिवारलाई तत्काल राहतसँगै शिक्षा र भविष्य निर्माणमा समेत सहयोग पुर्याउने प्रयास गरिएको तरुण दलले जनाएको छ।


