भोटेकोशी बाढीबाट १३ हजारभन्दा बढीको उद्धार, एक हजार ३३१ शव फेला

Headlines आर्थिक पूर्वाधार तथा विकास निर्माण समाचार

काठमाडौँ — रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि हालसम्म एक हजार ३३१ जनाको शव फेला परेको छ । बाढी प्रभावित विभिन्न आठ जिल्लामा ठूलो मानवीय क्षति भएको छ भने करिब पाँच हजार जना अझै सम्पर्कविहीन छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा ३६० छन् । नवलपरासीपूर्वमा २२२, नवलपरासीपश्चिममा २१९, नुवाकोटमा १९५, रसुवामा १५६, गोरखामा ७४, धादिङमा ६७ र तनहुँमा ३८ शव फेला परेका छन् ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीन हुनेमा रसुवा र नुवाकोटका नागरिकको संख्या ठूलो छ । रसुवा जिल्ला प्रशासनबाट प्राप्त पछिल्लो विवरणअनुसार करिब एक हजार ९६७ जना र नुवाकोटबाट करिब दुई हजार ३४० जना सम्पर्कविहीन छन् । त्यस्तै ५८९ विदेशी नागरिक तथा सुरक्षाकर्मी र कर्मचारी गरी करिब १०० जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

बेपत्ताको संख्या ठूलो रहेकाले प्रभावित जिल्लामा खोज तथा उद्धार अभियानलाई तीव्र बनाइएको छ । सुरक्षा निकाय, स्थानीय तह तथा अन्य सरकारी निकाय परिचालन गरेर सम्भावित क्षेत्रमा खोजी भइरहेको प्राधिकरणले जनाएको छ ।

१३ हजारभन्दा बढीको उद्धार

बाढीपछि सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म १३ हजार १०१ जनाको उद्धार गरिएको छ ।

प्राधिकरणका अनुसार नेपाली सेनाले चार हजार १६२, नेपाल प्रहरीले चार हजार ६८ र सशस्त्र प्रहरी बलले चार हजार ८७१ जनाको उद्धार गरेका छन् । उद्धार गरिएका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै आवश्यक उपचार र राहतको व्यवस्था गरिएको छ ।

फेला परेका शवमध्ये हालसम्म ९८ जनाको सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ । सनाखत हुन बाँकी शवको पहिचान प्रक्रिया जारी छ ।

करिब छ हजारको उपचार

बाढीबाट घाइते तथा प्रभावित पाँच हजार ९२९ जनाले उपचार सेवा लिएका छन् । प्राधिकरणका अनुसार विभिन्न अस्पतालमा ३१६ जना, नेपाली सेनाबाट तीन हजार २९७ जना र सशस्त्र प्रहरी बलबाट दुई हजार ३१६ जनाले स्वास्थ्योपचार सेवा पाएका छन् ।

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्न सुरक्षा निकायले आफ्ना स्वास्थ्य टोली परिचालन गरेका छन् । प्रभावित तथा घाइतेको उपचारलाई खोज तथा उद्धार अभियानसँगै अघि बढाइएको प्राधिकरणले जनाएको छ ।

४१ होल्डिङ सेन्टरमा करिब चार हजार

बाढी तथा पहिरोका कारण विस्थापित भएका नागरिकका लागि काठमाडौं, रसुवा, नुवाकोट र धादिङमा ४१ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ ।

प्राधिकरणका अनुसार ती केन्द्रमा हाल तीन हजार ९८२ जना सुरक्षित आश्रय लिएर बसेका छन् । विस्थापित तथा प्रभावितलाई सुरक्षित स्थानमा राखेर खाद्यान्न, आवास, स्वास्थ्यलगायत आधारभूत आवश्यकता पूरा गर्ने काम भइरहेको छ ।

भोटेकोशीमा आएको बाढीले एकैपटक ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि प्रभावित जिल्लामा सुरक्षा निकाय, स्थानीय तह तथा सरकारी र गैरसरकारी संस्थाहरू खोजी, उद्धार, उपचार र राहत व्यवस्थापनमा सक्रिय छन् ।

सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारलाई थप तीव्र बनाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।