काठमाडौं — चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा निर्जीवन बीमा व्यवसाय २३ प्रतिशतले बढेको छ। नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको साउन महिनाको तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरूले ५ अर्ब ४० करोड १५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
अघिल्लो आर्थिक वर्षको साउनमा कम्पनीहरूले ४ अर्ब ३९ करोड ६७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए। एक वर्षमा बीमाशुल्क संकलन करिब १ अर्ब रुपैयाँले बढेको हो।
नेपालमा हाल १४ वटा ठूला र चारवटा लघु गरी १८ निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन्। चालु आर्थिक वर्षको पहिलो महिनामै व्यवसायमा उत्साहजनक वृद्धि देखिए पनि भदौ १० को बाढी तथा पहिरोले आगामी महिनाको व्यवसाय र दाबी भुक्तानीमा पार्ने प्रभाव भने देखिन बाँकी छ।
भोटेकोशी बाढीबाट मात्रै करिब २६ अर्ब रुपैयाँ बराबरको बीमा दाबी परिसकेको प्रारम्भिक तथ्यांक छ। यसले एकातिर बीमा कम्पनीको दाबी दायित्व बढाउने र अर्कोतिर प्रभावित क्षेत्रको नयाँ व्यवसायमा असर पार्ने जोखिम देखिएको छ।
हिमालयन एभरेस्टको बीमाशुल्क सबैभन्दा धेरै
साउनमा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्नेमा हिमालयन एभरेस्ट इन्स्योरेन्स रहेको छ। कम्पनीले ५६ करोड २५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स ५५ करोड ३२ लाख रुपैयाँसहित दोस्रो स्थानमा छ। एनएलजी इन्स्योरेन्सले ५३ करोड ४६ लाख रुपैयाँ संकलन गरेको छ।
त्यस्तै, शिखर इन्स्योरेन्सले ५१ करोड २० लाख, सिद्धार्थ प्रिमियरले ४६ करोड ७६ लाख, आईजीआई प्रुडेन्सियलले ४४ करोड ७१ लाख र दि ओरियन्टलले ४४ करोड ३७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
नेको इन्स्योरेन्सले ३८ करोड ८ लाख, युनाइटेड अजोडले ३३ करोड २३ लाख, नेसनल इन्स्योरेन्सले २७ करोड २ लाख र नेपाल इन्स्योरेन्सले २५ करोड २७ लाख रुपैयाँ बीमाशुल्क उठाएका छन्।
सानिमा जीआईसीले २४ करोड ३ लाख, राष्ट्रिय बीमा कम्पनीले १९ करोड २ लाख र प्रभु इन्स्योरेन्सले १४ करोड ६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
चारवटा लघु निर्जीवन बीमा कम्पनीमध्ये प्रोटेक्टिभ माइक्रोले २ करोड २६ लाख, नेपाल माइक्रोले १ करोड ७८ लाख, स्टार माइक्रोले १ करोड ७६ लाख र ट्रस्ट माइक्रोले १ करोड ४९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
सम्पत्ति र मोटर बीमामा ठूलो हिस्सा
साउनमा निर्जीवन बीमाको व्यवसायमा सम्पत्ति र मोटर बीमाको हिस्सा ठूलो देखिएको छ। सम्पत्ति बीमाबाट मात्रै १ अर्ब ६५ करोड ७५ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ।
मोटर बीमाबाट १ अर्ब २२ करोड २९ लाख रुपैयाँ बीमाशुल्क उठेको छ। यसले निर्जीवन बीमा व्यवसाय अझै पनि सम्पत्ति र सवारीसाधन बीमामा बढी निर्भर रहेको देखाउँछ।
बागमतीमै केन्द्रित व्यवसाय
प्रदेशगत रूपमा निर्जीवन बीमा व्यवसायमा ठूलो असमानता देखिएको छ। साउनमा बागमती प्रदेशबाट मात्रै ३ अर्ब ८० करोड ६६ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ। यो कुल बीमाशुल्कको करिब ७० प्रतिशत हो।
कर्णाली प्रदेशबाट भने ३ करोड ९८ लाख रुपैयाँ मात्रै बीमाशुल्क उठेको छ। यसले निर्जीवन बीमाको पहुँच र व्यवसाय अझै केही प्रदेश तथा सहरी क्षेत्रमा केन्द्रित रहेको देखाउँछ।
चारवटा लघु निर्जीवन बीमा कम्पनीले साउनमा कुल ७ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। बीमाको पहुँच विस्तारका लागि लघु बीमाको भूमिका बढाउने प्रयास भइरहे पनि कुल व्यवसायमा यसको हिस्सा अझै सानो छ।
साउनको तथ्यांकले निर्जीवन बीमा व्यवसायको सुरुवात सकारात्मक देखाए पनि भदौमा आएको ठूलो बाढीपछि दाबी भुक्तानी, पुनर्बीमा र कम्पनीहरूको वित्तीय दायित्वमा पर्ने प्रभावले आगामी महिनाको व्यवसायको वास्तविक अवस्था निर्धारण गर्नेछ।


