काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी क्षेत्रलाई बचत फिर्ता र कर्जा असुलीमा मात्रै सीमित नगरी सहकारी प्रवद्र्धनको एजेन्डालाई पनि सँगसँगै अघि बढाउनुपर्ने बताएका छन्।
शुक्रबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को १६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले पछिल्लो समय सरकारको मुख्य ध्यान बचत फिर्ता र कर्जा असुलीमा केन्द्रित भएको भन्दै त्यसले मात्रै सहकारी क्षेत्रको प्रवद्र्धन हुन नसक्ने बताए।
उनले भने, ‘बचत फिर्ता हुने, कर्जा असुल गर्ने कुरा पनि राम्रो हो, तर यसले सहकारी प्रवद्र्धन हुँदैन । सहकारी प्रवद्र्धन गर्ने एजेन्डा सँगसँगै जोडेर जानुपर्छ ।’
अध्यक्ष ढकालले सहकारी क्षेत्रलाई कमजोर बनाउने गरी भइरहेका गतिविधिप्रति आफूहरू चिन्तित रहेको बताए । सहकारी क्षेत्रलाई संविधानले तेस्रो पिल्लरका रूपमा स्वीकार गरेको स्मरण गर्दै उनले व्यवहारमा भने सहकारी क्षेत्रको भूमिका साँघुरिँदै गएको बताए।
उनले भने, ‘यदी हामी यही विषयमा मात्रै गयौँ भने यसले एक दिन रित्तो बनाउँछ। सहकारी अभियानभित्र जुन ऊर्जा थियो, संविधानमा सहकारीलाई तेस्रो पिल्लरका रूपमा अङ्गीकृत गर्ने वातावरण थियो, त्यो बिस्तारै साँघुरो भएको देखिन्छ।’
ढकालले सरकारले फेडेरेसन तथा केन्द्रीय सहकारी संघहरूप्रति लिएको पछिल्लो दृष्टिकोणप्रति समेत असन्तुष्टि जनाए । पछिल्ला तीन वर्षमा पटक–पटक सहकारी ऐन संशोधन भए पनि संशोधनहरू बचत संकलन र कर्जा असुलीसँग मात्रै जोडिएको उनको भनाइ थियो।
नेफ्स्कूनका शाखा तथा सेवा कार्यालयहरू घटाइएको विषयप्रति पनि ढकालले आपत्ति जनाए । उनका अनुसार केही समयअघिसम्म ३९ वटा शाखा कार्यालयमार्फत सेवा दिइरहेको नेफ्स्कून अहिले १८ वटा कार्यालय र १० वटा सेवा कार्यालयमा सीमित हुने अवस्थामा पुगेको छ ।
‘करिब १८–२० महिनाको बीचमा यति धेरै अफिसहरूलाई डाउनसाइजिङ गरेर जाने विषयले त्यहाँको जनस्तरमा रहेका सदस्य र सदस्य संस्थाले सेवा प्राप्त गर्न सक्छन् भन्ने लाग्दैन,’ उनले भने ।
सहकारी क्षेत्रको सुधारका नाममा राम्रा संस्थालाई समेत समस्याग्रस्त संस्थासँगै व्यवहार गर्न नहुने उनको भनाइ थियो । खराबलाई खराब भन्नुपर्ने भए पनि राम्रो काम गरिरहेका सहकारीलाई प्रोत्साहन र संरक्षण गर्नुपर्ने उनले बताए ।
उनले भने, ‘खराबलाई खराब भनौँ, तर सहीलाई एप्रिसिएट त गरिदिनुपर्छ नि। खाली दुईटा टास्क मात्रै राखेर जाँदा सहकारी अभियान शुद्धीकरणको बाटोमा जान सक्दैन।’
अध्यक्ष ढकालले सहकारी क्षेत्रको सुधारका लागि पत्रकारहरूले विस्थापनभन्दा सुधार र संस्थागत विकासमा केन्द्रित भएर कलम चलाउनुपर्ने बताए।
यसैबीच, रसुवा र भोटेकोशी क्षेत्रमा भएको विपद्प्रति सहकारी क्षेत्रले देखाएको सहयोग र ऐक्यबद्धताको उनले प्रशंसा गरे। विपद्का बेला सहकारी अभियानले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषलगायतमा गरेको सहयोगलाई सकारात्मक रूपमा लिनुपर्ने उनको भनाइ थियो।


