काठमाडौं। महालक्ष्मी विकास बैंकले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकका अनुसार उक्त रकममा बैंकको योगदानसँगै कर्मचारीको एक दिन बराबरको पारिश्रमिकसमेत समावेश छ।
भदौ १० गते आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ र चितवनका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै बैंकले प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग गर्ने उद्देश्यले रकम प्रदान गरेको जनाएको छ।
बैंकले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।
महालक्ष्मी विकास बैंकले विपद्का बेला प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै राहत, उद्धार तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायबाट भइरहेका प्रयासमा आफ्नो सहयोग निरन्तर रहने जनाएको छ।


