काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने नेपाली खेलकुदको सबभन्दा ठूलो पल्सर स्पोर्टस अवार्ड आज बिहीबार काठमाडौंमा आयोजना हुँदैछ ।
नेपाली खेल पत्रकारहरुको छाता संगठनले गर्ने अवार्ड प्रदर्शनी मार्गस्थित नेपाल पुलिसको ब्लु पभेलियनमा हुने आयोजकले जनाएको छ । अवार्डमा विभिन्न ९ विधामा उत्कृष्ट खेलाडी तथा खेलकर्मीलाई सम्मानित गरिनेछ ।
मञ्चका अनुसार वर्ष २०८२ मा गरेको प्रदर्शनका आधारमा खेलाडी तथा खेलकर्मीलाई विभिन्न विधामा पुरस्कृत गरिनेछ । जसअनुसार वर्षको उत्कृष्ट पुरुष खेलाडी, वर्षको उत्कृष्ट महिला खेलाडी, वर्षको उत्कृष्ट युवा खेलाडी, वर्षको उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियाली खेल पत्रकार विधा समावेश छन् ।
पुरुष, महिला र युवा खेलाडी, प्रशिक्षक, पारा एथलिट, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियाली खेल पत्रकारको विधामा मनोनयन तथा विजेता चयनका लागि मञ्चको छनोट समितिले निर्णय गर्छ भने पिपल्स च्वाइस विधामा चाँही समर्थक तथा खेलकर्मीको मतदानले विजेताको निर्णय हुन्छ ।
पिपल्स च्वाइस विधामा मञ्चकाो छनोट समितिले शीर्ष पाँच खेलाडीको मनोनयन सार्वजनिक गरिसकेको छ । ती पाँच खेलाडीमध्ये समर्थकको एसएमएस र खेल प्रशिक्षक तथा आयोजक मञ्चका सदस्यहरुको मतका आधारमा विजेताको चयन हुनेछ । पिपल्स च्वाइसको मनोनयनमा मिक्स मार्शल आर्टसका रवीन्द्र ढाँट, फुटबलकी पुजा राना, क्रिकेटका शेर मल्ल, भलिबलकी मिना सुनार र करातेकी सानुमाया थिङ छन् । मतदान प्रक्रिया गएराति १२ बजे बन्द भइसकेको छ र त्यसको घोषणा कार्यक्रममा हुने मञ्चका सचिव एवं खेलाडी छनोट समितिका संयोजक अनिल मल्लले जानकारी गराएका छन् ।
यसैगरी उत्कृष्ट पुरुष खेलाडीको विधामा बक्सिङका चन्द्र थापा, क्रिकेटका दीपेन्द्रसिंह ऐरी, एथ्लेटिक्सका सोमबहादुर कुमाल, करातेका प्रदीप बैजाली मगर र गल्फका सद्भाव आचार्य छन् । महिला विधामा करातेकी एरिका गुरुङ, करातेकै सानुमाया थिङ, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र करातेकी सविना श्रेष्ठ छन् ।
त्यस्तै उत्कृष्ट युवा खेलाडीको मनोनयनमा बक्सिङका अर्पिल राना, करातेका रेहान जाबेद र मनिषकुमारी बोहरा, बुद्धिचालका पुरुषोत्तम सिलवाल र क्रिकेटका रौनक श्रीवास्तव तथा उत्कृष्ट प्रशिक्षकमा बक्सिङका दीपक महर्जन, करातेका कुशल श्रेष्ठ र मण्डेकाजी श्रेष्ठ, क्रिकेटका स्टुआर्ट ल र नेत्रहिन महिला क्रिकेटका पुरनसिंह खत्री छन् ।
मञ्चका सचिव अनिल मल्लको संयोजकत्वमा रहेको छनोट समितिले आजै कार्यक्रमभन्दा एक घण्टाअघि मनोनितमध्येबाट विजेताको टुंगो लगाउनेछ । पारा एथलिट सम्मान, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियाली खेल पत्रकार सम्मानमा सम्मानित हुनेको नाम कार्यक्रममै सोझै घोषणा गरिने मञ्चले जनाएको छ ।


