नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

बैंक/वित्त

 

काठमाडौं, १५ भदौः नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको तीनमहिने निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ।

राष्ट्र बैंकले आज सूचना जारी गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाबाट निक्षेप संकलन गर्न लागेको जनाएको छ। बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत हुनेछ।

निक्षेप संकलन उपकरणको निष्कासन अवधि तीन महिना अर्थात् आगामी मंसिर ९ गतेसम्म रहनेछ। यसको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ।

बोलकबोलमा सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा १० करोड रुपैयाँका दरले रकमका लागि आवेदन दिन सक्नेछन्। आवश्यकताअनुसार आह्वान गरिएको कुल रकमसम्म बोलकबोल गर्न सकिनेछ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदरमा बोलकबोल गर्नुपर्नेछ। समान ब्याजदर उल्लेख भएका बोलमध्ये कुल निष्काशित रकमभन्दा बढी माग भएमा प्रो–राटा आधारमा बाँडफाँट गरिनेछ।

निक्षेप संकलनका लागि अन्य बैंक तथा वित्तीय संस्थामा रहेको धितोलाई समेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। साथै, बोल स्वीकृत भएका संस्थाको खाताबाट रकम कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा निक्षेप जम्मा गरिनेछ।

निक्षेप संकलन उपकरणको रकम तथा निर्धारित ब्याज भुक्तानी मितिमा सम्बन्धित बैंकको राष्ट्र बैंकस्थित खातामा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार यसरी संकलित रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन। तर, राष्ट्र बैंकले तोकेको वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न सकिनेछ।