पृथ्वीराजमार्ग अवरुद्ध भएपछि हेटौंडा हुँदै इन्धन आपूर्ति, काठमाडौंमा अभाव नहुने

Headlines आर्थिक

काठमाडौं । पृथ्वीराजमार्ग अवरुद्ध भए पनि काठमाडौंमा पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित नहुने नेपाल आयल निगमले जनाएको छ। निगमले पाइपलाइनबाट पर्याप्त इन्धन आइरहेको र हेटौंडाको वैकल्पिक मार्ग प्रयोग गरेरसमेत काठमाडौंमा इन्धन ल्याउन थालिएको जनाएको हो।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरेपछि पृथ्वीराजमार्गको मुग्लिन–काठमाडौं खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि काठमाडौंमा अत्यावश्यक सामग्री तथा पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुनसक्ने आशंका गरिएको थियो।

तर, निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले इन्धन आपूर्तिको मुख्य आधार अमलेखगञ्ज डिपोमा पाइपलाइनबाट पर्याप्त इन्धन आइरहेको र त्यहाँबाट वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउने व्यवस्था मिलाइएको बताए।

अमलेखगञ्जबाट साना क्षमताका ट्यांकरमार्फत हेटौंडा हुँदै काठमाडौंमा पेट्रोलियम पदार्थ ल्याइनेछ। निजी ढुवानीकर्ता तथा डिलरका २० हजार र १२ हजार लिटर क्षमताका ट्यांकर प्रयोग गरिने साहले बताए।

सडक अवरोधका कारण आपूर्ति शृंखलामा एक–दुई घण्टासम्म ढिलाइ हुनसक्ने भए पनि इन्धन आपूर्तिमा समस्या नहुने निगमको भनाइ छ।

खाना पकाउने एलपी ग्यासको आपूर्तिमा पनि हेटौंडाको वैकल्पिक मार्ग प्रयोग गरिने भएको छ। ग्यासका अधिकांश प्लान्ट तराई क्षेत्रमा रहेकाले त्यहाँबाट ग्यास लोड गरी हेटौंडा हुँदै काठमाडौं ल्याउने व्यवस्था मिलाइएको निगमले जनाएको छ।

यसअघि अविरल वर्षाका कारण रोकिएका अधिकांश इन्धन ट्यांकर शनिबार नै काठमाडौं भित्रिसकेका छन्। त्यसैले तत्काल बजारमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको अभाव नहुने निगमले जनाएको छ।