काठमाडौं , जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजीआई) ले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ।
सरकारले विपद्प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउने प्रयासमा साथ दिँदै जावलाखेल ग्रुपले उक्त रकम सहयोग गरेको जनाएको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोग प्रदान गरेको हो।
विपद्का कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै कम्पनीले बाढीबाट प्रभावित व्यक्ति तथा समुदायप्रति सहानुभूति प्रकट गरेको छ।
जावलाखेल ग्रुपले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा निरन्तर साथ रहने प्रतिबद्धता पनि जनाएको छ।
कम्पनीले ‘राहत, पुनःस्थापना, पुनर्निर्माण र ऐक्यबद्धता’लाई प्राथमिकतामा राख्दै सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सहयोगलाई निरन्तरता दिने जनाएको छ।



