काठमाडौं । रसुवाको स्याफ्रुबेँसी प्रहरी चौकीमा कार्यरत प्रहरी हरेन्द्र यादव बाढीमा परी बेपत्ता भएका छन् । नवलपरासी, प्रतापपुर गाउँपालिका–८, डिबनी निवासी यादव बाढीपछि सम्पर्कविहीन भएका हुन् ।
हरेन्द्रका दाई सुरेन्द्र यादव पनि नेपाल प्रहरी तनहुँमा कार्यरत छन् । सुरेन्द्रका अनुसार भाईसँग सोमबार अन्तिमपटक कुराकानी भएको थियो। त्यसबेला हरेन्द्रले आफू घर आउने र दाइलाई पनि बिदा लिएर घर आउन आग्रह गरेका थिए ।
‘म घर आउँछु, आइज तँ पनि बिदा लिएर, सँगै भेट हुन्छ,’ भाईसँग भएको संवाद सुनाउँदै सुरेन्द्रले भने ।

सुरेन्द्रले पनि भाईलाई आफू भएको ठाउँमा आउन र त्यहीँबाट सँगै घर जाने कुरा गरेका थिए । त्यसमा हरेन्द्रले ‘ल–ल’ भनेर जवाफ दिएको सुरेन्द्रले बताए ।
भाईसँग भएको अन्तिम कुराकानी सम्झिँदा सुरेन्द्र भावुक बनेका थिए । लामो समयदेखि प्रहरी सेवामा रहेका भाईसँग सामान्य रूपमा भएको उक्त कुराकानी नै अन्तिम बन्न पुगेपछि उनी भावविह्वल छन् ।
सुरेन्द्रका अनुसार हरेन्द्रले प्रहरी सेवामा करिब १४ वर्ष बिताइसकेका छन् । दुवै दाजुभाई प्रहरी सेवामै कार्यरत रहेकाले परिवारमा पनि उनीहरूको सेवाप्रतिको गर्व थियो। तर, बाढीमा परी भाई बेपत्ता भएपछि परिवार चिन्तित र शोकमा छ।
नेपाल प्रहरीले सार्वजनिक बेपत्ता भएकाहरुको सूचीमा हरेन्द्रको नाम पनि समावेश छ । उनको अवस्था अझै अज्ञात रहेकाले परिवार उनको खोजी तथा सकुशल उद्धारको प्रतीक्षामा छ।


