भोटेकोशी बाढी : प्रभावितका लागि इयूको २० लाख युरो मानवीय सहायता

Headlines आर्थिक

काठमाडौं । भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको तत्कालीन आवश्यकता पूरा गर्न युरोपेली संघ (इयू) ले २० लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ।

इयूले शनिबार जारी गरेको विज्ञप्तिअनुसार उक्त सहयोगबाट बाढी प्रभावितलाई खाद्यान्न, स्वास्थ्य सेवा, सुरक्षित खानेपानी, सरसफाइ तथा अन्य अत्यावश्यक मानवीय सहायता उपलब्ध गराइनेछ। इयूबाट सहयोग प्राप्त साझेदार संस्थाहरूले प्रभावित क्षेत्रमा सहायता वितरणसमेत सुरु गरिसकेका छन्।

इयूका अनुसार यो सहयोग नेपालमा यसै वर्षको सुरुआतमा विपद् पूर्वतयारीका लागि विनियोजन गरिएको करिब ३० लाख युरो मानवीय सहायताभन्दा अतिरिक्त हो। बाढीपछि नेपालमा रहेका इयूका साझेदार संस्थाले पूर्वतयारी अवस्थामा राखिएका आश्रय तथा राहत सामग्री प्रभावित समुदायमा वितरण गर्दै तत्काल प्रतिकार्य सुरु गरेका थिए।

इयूले बाढीपछिको प्रतिकार्यलाई थप प्रभावकारी बनाउन एसियाका लागि ‘र्‍यापिड रेस्पोन्स कोअर्डिनेटर’ समेत परिचालन गर्ने जनाएको छ।

उपग्रहबाट प्रभावित क्षेत्रको नक्साङ्कन

स्थानीय उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन इयूले प्रभावित क्षेत्रको विस्तृत नक्साङ्कनका लागि ‘कोपरनिकस’ भू–उपग्रह सेवा सक्रिय गरेको छ।

उक्त सेवामार्फत बाढीबाट प्रभावित सडक, बस्ती तथा अन्य संरचनाको अवस्थाबारे सूचना संकलन गरी उद्धार तथा मानवीय सहायता परिचालनमा सहयोग पुर्‍याउने इयूको तयारी छ।

इयू कमिस्नर फर प्रिपेयर्डनेस एन्ड क्राइसिस म्यानेजमेन्ट हाड्जा लाहबिबले बाढीका कारण सडक बगेको, गाउँहरू सम्पर्कविहीन भएको र परिवारहरू आफ्ना सम्पर्कविहीन आफन्तको खोजीमा रहेको अवस्थाप्रति चिन्ता व्यक्त गरेकी छन्।

उनका अनुसार पछिल्लो बाढीले यसअघि नै विभिन्न विपद्बाट प्रभावित भई पुनर्निर्माणको क्रममा रहेका समुदायलाई थप कठिन अवस्थामा पुर्‍याएको छ।

इयूले नेपालका प्रभावित समुदायको साथमा रहेको जनाउँदै तत्काल आवश्यक स्वास्थ्य सेवा, खाद्यान्न, सुरक्षित पानी र आश्रयको व्यवस्था गर्न २० लाख युरो सहायता उपलब्ध गराएको जनाएको छ।

भोटेकोशी बाढीपछि नेपालमा खोज तथा उद्धारसँगै राहत र पुनःस्थापनाका लागि स्वदेशी तथा विदेशी स्रोत परिचालन भइरहेको अवस्थामा इयूको पछिल्लो सहयोग पनि थपिएको हो।