काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले आज (बिहीबार) सञ्चालन हुने सम्पूर्ण संकायका परीक्षाहरू स्थगित गरेको छ ।
बुधबार (भाद्र १० गते) भोटेकोशी नदीमा आएको बाढीका कारण देशभर उत्पन्न विषम र असहज परिस्थितिलाई मध्यनजर गर्दै विश्वविद्यालयले आजका पूर्वनिर्धारित परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको हो ।
विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालय, विराटनगरद्वारा बिहीबार जारी गरेको सूचना अनुसार आज सञ्चालन हुने सबै संकाय अन्तर्गतका परीक्षाहरू मात्र स्थगित गरिएको जनाइएको छ ।

स्थगित गरिएका परीक्षाहरूको नयाँ तालिका पछि प्रकाशित गरिने परीक्षा नियन्त्रकले जानकारी दिएका छन् । बाँकी दिनका परीक्षाहरू भने पूर्ववत् कार्यतालिका अनुसार नै सञ्चालन हुने जनाइएको छ ।


