सुर्खेत । रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि मुगुको छायाँनाथ रारा नगरपालिकाका दुई जना नागरिक सम्पर्कविहीन भएका छन् ।
विभिन्न कामको सिलसिलामा रसुवा पुगेका छायाँनाथ रारा नगरपालिका–१० का लालबहादुर सेजुवाल र शिव सेजुवाल बाढीपछि सम्पर्कविहीन भएका हुन् ।
तिब्बत (चीन) तर्फबाट सुरु भई रसुवाको भोटेकोशी नदी हुँदै आएको भीषण तथा आकस्मिक बाढीका कारण रसुवालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । बाढीका कारण सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेको र विभिन्न स्थानमा मानिसहरू सम्पर्कविहीन भएको स्थानीय प्रशासनले जनाएको छ ।

बाढीपछि आफ्ना दुई नागरिक सम्पर्कविहीन भएको भन्दै छायाँनाथ रारा नगरपालिकाले उनीहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकाय, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सरोकारवाला सबैसँग सहयोगको अपिल गरेको छ ।
नगर प्रमुख विष्णुकुमार भामद्वारा बुधबार जारी गरिएको आधिकारिक सूचनामा लालबहादुर सेजुवाल र शिव सेजुवालको खोजी तथा उद्धार कार्यमा आवश्यक सहयोग गरिदिन आग्रह गरिएको छ ।
नगरपालिकाले विपद्को यस कठिन अवस्थामा सम्पर्कविहीन नागरिकहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा सम्बन्धित निकायलाई उपलब्ध गराउनसमेत अनुरोध गरेको हो ।


